वडाभर हैजा फैलिएपछि स्वास्थ्य मन्त्रालयले कागेश्वरी मनोहरा ६ लाई ‘रेड जोन’मा राख्यो


काठमाडौं । २ असार यता उपत्यकामा हैजा (कलेरा) को संक्रमण निरन्तर बढ्दो छ । असार २७ गतेसम्म उपत्यकाको तथ्यांक अनुसार कलेरा संक्रमणको जोखिमका हिसाबले कागेश्वरी मनोहरा नगरपालिका ‘रेड जोन’मा परेको छ । नगरपालिकाको वडा नम्बर ६ लाई सरकारले पुरै रेड एरिया तोकेको छ । उक्त वडामा मात्रै ८ वटा कलेराका संक्रमित पुष्टि भएका छन् । उपत्यकाभर हालसम्म २७ केस पुष्टि भएको छ ।

संघीय सरकारले संक्रमणको जिम्मा स्थानीय तहलाई दिएको छ । तर, केस नियन्त्रणबाहिर गएपछि उक्त वडालाई रेड जोनमा राखिएको अधिकारीहरुले बताएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गताको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हाल कागेश्वरी मनोहरा नगरपालिका ‘रेड जोन’मा देखिएको छ । विश्व स्वास्थ्य संगठनको टोलीसहित स्वास्थ्यकर्मीहरुले प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले बताए अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ रेड जोनमा परेको छ भने, ९ र ७ मा पनि केसहरु देखिएको छ । तथ्यांक अनुसार कागेश्वरी मनोहरा नगरपालिका ८, काठमाडौं महानगरपालिका ११, ललितपुर महानगरपालिका ३, चन्द्रागिरी नगरपालिका २, किर्तिपुर नगरपालिका १, बुढानिलकण्ठ १ र चाँगुनारायण नगरपालिकामा १ जना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रलायले एउटा वडामा १ देखि २ केस देखिए सामान्य अवस्थामा राखेको छ । ३ देखि ५ केस देखिए जोखिम र ६ देखि २० केसदेखि अति जोखिम भनेर वर्गीकरण गरेको छ । अहिले सम्म अति जोखिम भनेर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मात्रै परेको छ । जहाँ ६ केस पुष्टि भएको छ ।

कुल २७ केसमध्ये बालबालिका ५ जना रहेका छन् । एकजना ४ वर्ष भन्दा कम उमेरका छन् । बर्षातको समयसँगै सडकमा थुप्रिएका अव्यवस्थित फोहोरले हैजाको संक्रमण बढाएको अधिकारीहरु बताउँछन् ।  अघिल्लो वर्ष कपिल्वस्तु र सप्तरीमा ८ जनामा हैजा पुष्टि भएको थियो । तर, यस वर्ष एक महिनाकोबीचमा २७ जना पुष्टि भइसकेका छन् । घारा, कुवाको पानी र विशेषगरी जारमा भरेको पानीमा कलेराको जिवाणु देखिएको सरकारी अधिकारीहरु बताउँछन् ।

हैजा लक्षण

हैजा हुँदा ग्याष्ट्रोएन्टेराइटिस हुने गर्छ । यसले गर्दा बान्ता हुने । चौलानी पानी जस्तो पखाला जाने हुन्छ । पिसाव रोकिने र निरन्तर दिसा जाने गर्छ । संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्न सक्छ ।

बच्ने उपाय 

खानेपानी सुरक्षित भए नभएको जाँचेर मात्र पिउनुपर्छ । पानी उमालेर मात्रै खानुपर्छ । सकेसम्म घरमै तयार भएको हाइजेनिक खाने कुरा खानुपर्छ । साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ जसले गर्दा हातको माध्यमबाट सर्ने किटाणु सर्न पाउँदैनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com