बागमतीका सबै विद्यालयमा नर्स राख्ने प्रदेश सरकारको तयारी


काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र रहेका सबै माध्यमिक विद्यालयहरू विद्यालय (स्कुल) नर्स राख्ने तयारी गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बागमती प्रदेशभित्र रहेका माध्यमिक तहका सबै सामुदायिक विद्यालयमा स्कुल नर्स राख्ने तयारी भइरहेको बताए ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा स्वास्थ्यमन्त्री लामाले ४ सय ५९ माध्यमिक तहका सामुदायिक विद्यालयमा स्कुल नर्स राखिसकेको जानकारी दिए । ‘अब तत्काल ६० विद्यालमा स्कुल नर्स राखिन्छ । त्यो काम सकेपछि बाँकी ५ सय ८१ बढी माध्यमिक तहका सामुदायिक विद्यालयमा स्कुल नर्स राख्ने काम अगाडि बढ्छ’,  स्वास्थ्यमन्त्री लामाले स्वास्थ्य लाइभसँग भने, ‘बागमती प्रदेशका सबै विद्यालयमा स्कुल नर्स राख्ने कार्यक्रम र कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउँछ ।’,

बागमती प्रदेश सरकारले ५ सय १९ माध्यमिक तहका सामुदायिक स्कुलमा स्कुल नर्स राख्ने कार्यक्रम कार्यान्वयन चरणमा लगेको छ । ४ सय ५९ माध्यमिक तहका सामुदायिक स्कुलमा स्कुल नर्स राख्ने काम सम्पन्न भइसकेको छ । ६० वटा विद्यालयमा स्कुल नर्स राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

स्कुल नर्स राख्ने बागमती प्रदेश सरकारको प्रभावकारी कार्यक्रम भएकाले यसलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्यमन्त्री लामाको भनाइ छ । स्वास्थ्यमन्त्री लामाले स्कुल नर्स व्यवस्थापन कार्यक्रमलाई प्रदेश सरकारले भनाइमा जस्तै गराइमा पनि विशेष प्राथमिकता र चासो दिएको देखिन्छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले स्कुल नर्स कार्यक्रमलाई काठमाडौंका सबै सामुदायिक विद्यालयमा पुर्‍याउने पर्ने जोड दिएका छन् । काठमाडौंको डिल्लीबजारस्थित विजय मेमोरियललगायतका विद्यालयमा स्कुल नर्स राख्न पर्यटनमन्त्री श्रेष्ठले ध्यानाकर्षण गराएका छन् । यो विषयमा स्वास्थ्यमन्त्री लामा पनि सकारात्मक देखिन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com