अस्पताल प्रशासनको लापरवाहीले गंगालालमा रोकियो मुटु शल्यक्रिया


काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसवारीमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालमा अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिएपछि सेवा बन्द भएको हो । अस्पतालको लापरवाहीले बेलैमा अक्सिजेनेटर व्यवस्था नगर्दा मंगलबार मात्र ४५ जना बिरामीलाई वेडबाट निकालेर घर पठाइएका छन ।

अक्सिजेनेटर’ले मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्न सहयोग गर्छ । मुख्यरुपमा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ ।

एकपटकमा एकजना बिरामीलाई मात्र यो उपकरण प्रयोग गर्न सकिन्छ । यो उपकरणको शुल्क ४० देखि ५० हजारसम्म पर्छ । जसको भुक्तानी बिरामी आफैले गर्नुपर्छ । यो उपकरण हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सम्झौता भएपनि त्यो कहिले आउने हो निश्चित छैन ।

गंगालालमा शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखा प्रमुखलगायतबीच छलफल भएको थियो । तर, छलफल कुनै निष्कर्षमा पुगेन । स्वास्थ्य सचिव डा. रोशन पोखरेल यसबारे गंगालालमै बुझ्न आग्रह गर्छन् । उनले थप प्रतिक्रिया दिन चाहेनन् ।

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले युक्रेन–रुस युद्धले कच्चा पदार्थ अभावका कारण उत्पादनमा कमी आएकाले समयमै ‘अक्सिजेनेटर’ ल्याउन नसकेको दाबी गरे ।
अति आवश्यक अक्सिजेनेटर’ अभावकै कारण शल्यक्रिया रोकिएपछि बिरामीहरू मर्कामा परेका छन् । सहिद गंगालालमा दैनिक ७ देखि ८ जनाको शल्यक्रिया हुने गरेकाे छ ।

क्याटेगोरी : विविध
ट्याग : #सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com