विवादित लेखा अधिकृतको शरणमा स्वास्थ्य राज्यमन्त्री, पैसावाला शाखामा ‘गिद्दे नजर’ लगाउनुको उद्देश्य के ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी मन्त्री भए यता निरन्तर विवादमा छन् । आफ्नो करणलेभन्दा पनि उनको सचिवालयमा काम गर्ने कर्मचारीको कारणले उनी पछिल्लो समय विवादमा मात्रै परेका छैनन् स्वास्थ्य क्षेत्रमा “ह्वास” गन्हाउन थालेका छन् ।

राज्यमन्त्री भएको तीन हप्ता नपुग्दै स्वास्थ्य सचिवले चढिँरहेको गाडी तानेर सार्वजनिक रुपमा विवादित बनेका मन्त्री केसी अझै चेतिएका छैनन् । उनले स्वास्थ्यमा उदाहरणीय काम गर्ने बताउँदै आएका छन् । त्यति मात्रै हैन, आफू सम्पन्न परिवारको व्यक्ति भएकाले कुनै लोभ लालच नभएको प्रतिक्रिया मन्त्रीले हरेक ठाउँमा दिइरहेका छन् ।

ठिक छ ! मन्त्रीको कुरालाई हामीले एकछिन विश्वास गरौं । तर, उनले जुन सचिवालय खडा गरेका छन् त्यसले उनको नियतमाथि गम्भीर प्रश्न र आशंका उब्जाएको छ । आफू आदर्शका कुरा गर्ने र सचिवालयबाट लेनदेनको काम गर्दा कतै भित्री सहमति त भएको छैन भन्ने प्रश्न सार्वजनिक रुपमा उठिरहेको छ ।

स्वास्थ्य राज्यमन्त्री केसीले अत्यन्तै विवादित व्यक्तिलाई निजी सचिवका रुपमा राखेका छन् । राम्रो काम गर्छु भन्ने मन्त्री नै स्वास्थ्य क्षेत्रमा विवादित बनेका लेखा अधिकृतको शरणमा परेका छन् । जिम्मेवारी सम्हालेको केही घण्टाबाटै स्वास्थ्य सुधारका योजनामाभन्दा पनि पैसावाला शाखामा ‘गिद्दे नजर’ लगाउन थाल्नुले मन्त्री कामभन्दा पनि बढि दाम खोज्न जुटेको आभास भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कस्ता व्यक्ति हुन् राज्यमन्त्रीका निजी सचिव ?

स्वास्थ्य राज्यमन्त्रीको निजी सचिका रुपमा हालै आवद्ध भएका वीर सिंह राई पेशाले लेखा अधिकृत हुन् । राई स्वास्थ्यमा विवाद नै विवादमा मुछिएका व्यक्ति हुन् । उनलाई नचिन्ने स्वास्थ्यमा सायद कम छन् ।

जहाँ-जहाँ राई पुग्छन् त्यहाँ विवादित काम गर्छन् । उनको कार्यशैली हरेक ठाउँ शंकास्पद छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा तत्कालीन समयमा लेखा अधिकृत भएर काम गर्दा ठूलो विवाद भएको थियो ।

केन्द्रका पुराना कर्मचारी भन्छन्, ‘महालेखाका कर्मचारी ‘अडिट’का लागि आउँदा राईले चाबी लगाएर हिँडेका थिए । उनले महालेखालाई ‘अडिट’ गर्न समेत असहयोग गरेका थिए । त्यस बेला डा. वासुदेव पाण्डे निर्देशक भएका थिए । हाल पाण्डे सेवा अवकास भइसकेका छन् ।

एड्स महाशाखाबाट जबर्जस्त राईको सरुवा भएको थियो । उनलाई कान्तिबाल अस्पतालमा पठाइएको थियो । कान्ति बाल अस्पतालमा पनि उनलाई राम्रो चिठ्ठा परेको थियो । लेखाको उपसचिव नहुँदा निमित्तको रुपमा राईले लेखा अधिकृतको काम गरेका थिए । तर, उनले कान्तिलाई कहिल्यै राम्रो हुन नदिएको त्यहाँका कर्मचारी सुनाउँछन् । तत्कालीन निर्देशक डा. अजित रायमाझी राईकै कारण आफू नेतृत्वमा हुँदा बदनामी खेप्नुपरेको सुनाउँछन् ।

हरेक फायल रोक्ने र सेवाग्राहीदेखि सप्लायर्स र अस्पतालका निर्देशकहरुलाई समेत दु:ख दिने काम राईबाट हुने गरेको पूर्व निर्देशकहरु बताउँछन् । तत्कालीन निर्देशक डा. कृष्ण प्रसाद पौडेलको पाला भन्दा अगाडि देखि खरिद गरिएका सामानहरुको भुक्तानी अहिलेसम्म भएको छैन । त्यस्तै पूर्व निर्देशक डा. आरपी बिच्छाकाे समयमा खरिद गरेका सामानहरुको पनि भुक्तानी रोकेर राखिएको छ ।

लेखा अधिकृत राईले स्वार्थमा लागेर कुनै पनि फायल अगाडी नबढाउँदा कान्ति बाल अस्पताललाई सप्लायर्सले सियो समेत बाँकी दिन छाडेका छन् । सप्लायर्सले हातमा ‘क्यास’ उपलब्ध नहुँदासम्म सियो धरी दिन छाडेको अस्पतालले बताएको छ ।

राईलाई हटाउन अस्पतालका सबै कर्मचारीले पहल गरेका थिए । तर, सकिरहेका थिएनन् । हाल भने कान्तिले जबर्जस्त उनलाई हटाएको छ । तर, ‘लातले हानेको कुकुर खाटमाथि’ भन्ने नेपाली उखान झैँ जबर्जस्त हटाएका विवादित राई हाल स्वास्थ्य राज्यमन्त्रीको निजी सचिव भएका छन् ।

हरेक कार्यालयमा विवादित बनेका व्यक्तिलाई राज्यमन्त्रीले निजी सचिव बनाउनुले स्वयं मन्त्रीमाथि नैतिक प्रश्न उठेको छ । राज्यमन्त्रीको सचिवालयले नीति योजना महाशाखामा गएर (LMBIS) मा बजेट हेर्न खोज्ने, स्वास्थ्य सेवा विभागका निर्देशकहरुलाई सप्लार्यस कम्पनीको नाम तोकेर सिल्ड गरिएको टेन्डर फायल पठाउन निर्देशन दिने र किर्ते सप्लायर्ससँग मिलेर करोडौं रकम भ्रष्टाचार गरेको भन्दै कर्मचारीलाई केही घण्टा समय दिएर स्पष्टीकरण लिने जस्ता काम सचिवालयबाट भइरहेको छ । जुन राईले नेतृत्व गरेको परिपत्रबाट देखिन्छ ।

यस्ता व्यक्ति सचिवालयमा राखेर राज्यमन्त्रीले के सन्देश दिन खोजेका हुन् त्यसको जवाफ उनी आफैले देलान । तर निजी सचिव राईको हर्कतले स्वास्थ्य राज्यमन्त्री केसी समेत तारन्तार विवादमा तानिन थालेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #वीर सिंह राई, #स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी, #ह्वास

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com