आईएनजीओ गुहारेर शंकर होटलमा कार्यशाल गोष्ठी, औचित्यहीन कार्यक्रमको भतेरमा जालान् स्वास्थ्यमन्त्री ?


काठमाडौं । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. संजय कुमार ठाकुरले एक आईएनजीओ गुहारेर शंकर होटलमा भतेरको आयोजना गर्न लागेको पाइएको छ । औचित्यनै नभएको कार्यक्रम २० गते चार तारे होटलमा राखेर भतेर खुवाउन लागिएका राष्ट्रिय क्षयरोग नियन्त्रण  केन्द्रका कर्मचारीहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत मंगलबार मात्रै सबै सचिवहरुलाई बोलाएर अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएका छन् । इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेको छ । यस्तो बेला बजेट बचाउनु पर्नेमा ठाकुर भने प्रधानमन्त्रीलाई नै चुनौती दिनेगरी चार तारे होटलमा कार्यक्रम राखेर भतेर खुवाउने दौडधुपमा छन् । ठाकुरको भतेर  कार्यक्रम राख्ने यो  शैली केन्द्रका कर्मचारीलाई रत्तिभर मन परेकाे छैन।

निर्देशक ठाकुरले स्वास्थ्यमन्त्री, सचिव, मन्त्रालयका महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभाग, एनजीओ, आईएनजीओका अधिकारी, स्थानीय तहका कर्मचारीहरुलाई भतेरमा आतिथ्यता गर्न अनुराेध गरेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकको यो कार्यक्रम मन्त्री सचिवलाई होटलमा एक छाक भतेर खुवाएर खुसी बनाउनेबाहेक केही नभएको स्वयम कर्मचारी बताउँछन् । ठाकुर कामप्रति खासै  ज्ञान नभएकै कारण मन्त्री सचिव खुसी बनाउन यस्ता भतेर गरिरहन्छन् । केही समय अगाडि पनि चार तारे हाेटलमा भतेर खुवाएका थिए ।

राष्ट्रिय क्षयरोग केन्द्रसँग आफ्नै सुविधा सम्पन्न कार्यक्रम हल छ । यता स्वास्थ्य मन्त्रालय र विभागका हल पनि कार्यक्रमको पर्खाइमा बसिरहेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रले गर्न खोजेको कार्यक्रम सबैभन्दा सानो अर्थात् कार्यशाला गोष्ठी हो । यो कार्यक्रम विगतमा केन्द्रकै हलमा हुँदै आएको थियो ।

राष्ट्रिय क्षयरोग केन्द्र उच्च स्रोतले स्वास्थ्य लाइभलाई बताए अनुसार शंकर होटलको भतेर खर्च सेभ द चिल्ड्रेनले व्यहोर्ने भएको छ । २५ लाख रुपैयाँ भतेरका लागि सेभले तयार गरेको स्रोतको भनाई छ । त्यस कार्यक्रममा सहभागीहरुको भत्ता, यातायात खर्च सबै सेभले व्यहोर्ने भएको हाे । अनावश्यक विषयमा खर्च गर्नु पर्दा सेभकाे  निन्द्रा हराम भएको छ । ‘यो कुनै कार्यक्रम हैन’, एक अधिकारीले भने, ‘नालायक ठाकुरले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई काम गरेको भनेर आँखामा छारो हाल्न चाकडी गरेको मात्रै हो ।”

भतेर छाडेर गर्नुपर्ने काम

२५ पालिकामा केन्द्रले टिबी फ्रि कार्यक्रम सञ्चालन गरेको छ । अघिल्लो माघबाट सुरु भएको हो । सामान्य रिभ्यु गरेर यो वर्ष ३० करोड रुपैयाँ राखेको छ । अन्य १०० बढी पालिका छानेर उक्त कार्यक्रम विस्तार गर्दै लैजानु पर्ने हो । तर, अहिलेसम्म पालिका छानेको छैन । कार्यक्रमको टुंगो पनि लगाएको छैन । बजेट ब्रेक डाउन गरेको छैन । त्यसको ‘रिभ्यू’ पनि गरेको छैन । तर, ठाकुरले आफुलाई राम्रो भन्दिनेहरुको भीड जम्मा पारी कार्यशाला गोष्ठीको नाम दिएर भतेर गर्दैछन् ।

‘औचित्य नै प्रमाणित नहुने कार्यक्रममा स्वास्थ्यमन्त्री र सचिव मात्र हैन महाशाखा प्रमुख समेत जानु उचित हुदैन’, अधिकारीहरु भन्छन् । तर, भतेर भनेपछि स्वास्थ्यका उच्च अधिकारीले घरकाे भात खाएकाे खासै हाम्रो जानकारीमा छैन । उनीहरु कहिल्यै आफ्ना हल प्रयाेग गराैं भन्दैनन् । अलिकति  इज्जत भए यस्ता कार्यक्रमका नाममा हुने भतेरमा कर्मचारी जादैनन् ।

सचेत मन्त्री सचिव पनि यस्ता भतेरमा सहभागी हुदैनन् । तर, स्वास्थ्य मन्त्रालयको हकमा हामी जिम्मा लिन सक्दैनौं । अधिकारीहरु भन्छन्, ‘मन्त्रीले यस्तो कार्यक्रम तत्काल होटलमा गर्न रोक लगाउने र आवश्यक परे सरकारी हलको प्रयोग गर्न निर्देशन दिनुपर्छ ।’, यस्तो औचित्यहीन भतेर कार्यक्रममा स्वास्थ्यमन्त्री जानु गलत हुने स्वास्थ्य मन्त्रालय कै केही अधिकारीहरूको टिप्पणी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #भतेर कार्यक्रम, #राष्ट्रिय क्षयरोग केन्द्र, #शंकर होटल, #सञ्जय कुमार ठाकुर, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com