ईनरुवा नगरपालिकाले कोभिडमा मात्र नभइ साइकल खरिदमा समेत अनियमितता गर्‍यो


काठमाडौं । ईनरुवा नगरपालिकाले कोभिड-१९ न्यूनिकरणका लागि मात्र नभइ साइकल खरिदमा समेत अनियमितता गरेको खुलासा भएको छ ।

मधेश प्रदेश सरकारले साइकल खरिदमा गरेको भ्रष्टाचारको झल्को दिने गरी  ईनरुवा नगरपालिकाले साइकल खरिदमा बदमासी गरेको हो । महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार ईनरुवा नगरपालिकाले साइकल वितरण कार्यक्रमको छत्र बहादुर श्रेष्ठलाई दिएको ५ लाख रुपैयाँको बिल भरपाई खर्च पुष्टि गर्ने कुनै कागजात पेश गर्न सकेको छैन । ईनरुवा नगरपालिकाका तत्कालीन मेयर राजन मेहताको पालामा भएको उक्त साइकल खरिदको अवस्था हेर्दा मधेश सरकारलाई बिर्स्याउने काम भएको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै मधेश सरकारले साइकल खरिद गर्दा भ्रष्टाचार गरेको भनेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारको छानबिनको दायरामा रहेका ईनरुवा नगरपालिकाका पूर्व मेयर तथा हाल जिल्ला समन्वय समितिका सभापति रहेका मेहताको पालामा पनि साइकल खरिदमा मधेश सरकार कै हबिगत रहेको पाइएको छ ।

ईनरुवा नगरपालिकाले स्वास्थ्य संस्था नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्रहरूको सञ्चालन खर्चका लागि छुट्याइएको ४ लाख ८२ हजार १ सय ४९ रुपैयाँ पैसा शौचालय निर्माणमा प्रयोग गरेर अनियमितता गरेको महालेखाले जनाएको छ । त्यस्तै मातृ तथा नव शिशु अन्तर्गत आमा सुरक्षा गर्वभती उत्प्रेरणा सेवा न्यानो झोलाका लागि निकासा भएको ३७ हजार ५ सय १० रुपैयाँ भत्तामा दुरुपयोग गरेको पाइएको छ ।

त्यस्तै स्वास्थ्यकर्मी जोखिम भत्तामा १ प्रतिशत मात्र कर कट्टा गरेकाले ३ लाख ४ हजार ८ सय ५२ रुपैयाँ नपुग रकम असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न ईनरुवा नगरपालिकालाई महालेखाले निर्देशन दिएको छ । त्यस्तै ईनरुवा नगरपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष कोषराज अधिकारीलाई कानुनविपरीत उपलब्ध गराएको ८३ हजार ८ सय ३३ रुपैयाँ कोरोना उपचार खर्च असुल गर्नुपर्ने समेत महालेखाको ठहर छ ।

ईनरुवा नगरपालिकाले कोभिड-१९ निमन्त्रणमा गरेको खर्चमा समेत महालेखाले कैफियत जनाएको छ ।

स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने महिलालाई वितरण गरिएको झन्डै ५ लाखको न्यानो झोला खरिदमा समेत अनियमितता भएको महालेखाको ठहर छ ।

औषधि खरिददेखि न्यायिक समितिको भत्तामा समेत महालेखाले अनियमितता देखाएको छ । पदाधिकारी बैठक भत्तामा समेत १ लाख ३६ हजार अनियमितता भएको समेत महालेखाले उल्लेख गरेको छ ।

 

 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अनियमितता, #इनरुवा नगरपालिका, #राजन मेहता, #साइकल खरिद

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com