वीपीको रजिष्ट्रारमा डिलाका श्रीमान् सूर्यको नियुक्तिविरुद्ध उत्रियो कांग्रेस


काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलका श्रीमान् सूर्यको नियुक्तिविरुद्ध कांग्रेस नै उत्रिएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सुनसरीले डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै रजिष्ट्रार सूर्य र अस्पताल निर्देशक जगत प्रसादको नियुक्तविरुद्ध उभिएको हो ।

चिकित्सा शिक्षा आयोगको मापदण्ड र प्रतिष्ठानको ऐन तथा नियमावली विपरित भएको नियुक्ति खारेज हुनुपर्ने माग राख्दै क्षेत्रीय कार्यसमिति सूर्य र जगत प्रसाद नियुक्तिविरुद्ध सशक्त रुपमा प्रस्तुत भएको छ ।  क्षेत्रीय कार्यसमितिका प्रवक्तासमेत रहेका सचिव केशव पुरीले उक्त मागलाई जोडदार रूपमा उठाएका छन् ।

उनले जारी गरेको ९ बुँदे माग बिरामीको उपचार शुल्क नेपाल सरकारका अस्पताल सरह निर्धारण गर्नुपर्ने, पेइङ सेवा बन्द गर्नुपर्ने उल्लेख छ । यसैगरी, प्रयोगशाला जाँचहरुको रिपोर्ट अनलाइनमार्फत पाउने व्यवस्था गर्नुपर्ने, अतिरिक्त आकर्षक भत्ता लिने व्यवस्था खारेज हुनुपर्ने उल्लेख छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाण रहँदा रहँदै पनि कारबाही नगरेकाले त्यस्तालाई तत्काल कारबाही गर्नुपर्ने माग समेत राखेको छ । किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको हो ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशकै भरमा अनेकौं आर्थिक निर्णयहरु गरेकाले अन्तरिम आदेशको हदम्याद तोकिनुपर्ने पनि कांग्रेसको माग छ ।

दक्ष चिकित्सकलाई रोक्न ठोस योजना ल्याउनुपर्ने र शिक्षक तथा कर्मचारीको वृत्ति विकासका काम निरन्तरता दिनुपर्नेमा समेत कांग्रेसले जोड दिएको छ ।  डा. गोविन्द केसीले १२ भदौंबाट गर्ने भनिएको सत्याग्रहलाई समर्थन गर्ने र अन्य राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजलाई सहयोग गर्न पनि कांग्रेसले अनुरोध गरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #कांग्रेस धरान, #डा. सूर्य संग्रौला, #डिला संग्रौला, #रजिष्ट्रार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com