स्वास्थ्य लाइभ फलोअप

डा. अहिराज, भूमाफिया चाम्लिङसहितको अनधिकृत संरचनामा डोजर लगाउन ३ दिन बाँकी !


काठमाडौं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश झा अहिराज, भूमाफिया इन्द्र कुमार चाम्लिङ, एमाले नेता हेमराज घिसिङ, दुर्गा प्रसाईका भाइ युवराज प्रसाईसहितले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचना हटाउन अब ३ दिन मात्र बाँकी छ ।
काठमाडौं महानगरपालिकाले उनीहरूले सरकारी जग्गा अतिक्रमण गरेर बनाएको घर/टहरामा डोजर लगाउने उद्देश्यले सप्रमाण उपस्थित हुन् काटेको पत्रको ‘काउन्ट डाउन’ सुरू भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले सप्रमाण उपस्थित हुन काटेको पत्रको दुर्गा प्रसाईका भाइ युवराज र अष्टमान महर्जनले जवाफ दिएका छन् । उनीहरूले प्रमाण पेश गर्न नसकेकाल सरकारी जग्गा हडपेको पुष्टि भएको छ ।

सरकारी जग्गा अतिक्रमण गरेर संरचना बनाउने भूमाफिया इन्द्र कुमार चाम्लिङ र एमाले नेता हेमराज घिसिङ अझै महानगरको सम्पर्कमा आएका छैनन्। सरकारी जग्गा हडपेर २ तले घर बनाइ मासिक ५० हजार भाडा खाइरहेका मधेश प्रदेशका पूर्व प्रमुख डा. अहिराजले आफूले अनधिकृत रुपमा बनाएको संरचना हटाउने स्वास्थ्य लाइभसँग प्रतिवद्धता जनाएपनि अहिलेसम्म भत्काएका छैनन् । उनी काठमाडौं महानगरपालिकाको डोजरको पर्खाइमा देखिन्छन् ।

झन्डै आधा रोपनी सरकारी जग्गा हडप्ने एमाले नेता हेमराज घिसिङ टिकट लिएर प्रदेशसभाको चुनावमा लड्ने तयारी गर्दै छन् । अनधिकृत संरचना हटाउन छाडेर उनी नेकपा एमाले सिन्धुलीबाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ चुनाव लड्न दौडधुपमा छन् । सरकारी जग्गा हडपेर मासिक १० लाख भाडा खाइरहेका भूमाफिया चाम्लिङ त शक्ति केन्द्र धाउन थालेका छन् । नेताहरुको घरमा धाएर उनी सरकारी जग्गा जगाउन आफूले भूमिका खेलेको दाबी गर्न थालेका छन् । भूमाफिया चाम्लिङले बेचेको सरकारी टहरो उपभोग गरिरहेका पर्शुराम राई भने महानगरले डोजर लगाउने आफूलाई फरक नपर्ने अभिव्यक्ति दिन थालेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर देवीनगर धोबीखोला करिडोरमा पूर्व प्रदेश प्रमुख डा. राजेश झा अहिराज, भूमाफिया इन्द्र कुमार चाम्लिङ, एमाले नेता हेमराज घिसिङ, दुर्गा प्रसाईका भाइ युवराज प्रसाईसहितले झन्डै ७ रोपनी सरकारी जग्गा हडपेको पाइन्छ ।
त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पटक-पटक ध्यानाकर्षण गराइसकेका छन् । वडाले दिएको म्याद सकिएलगत्तै डोजर लगाउनु पर्ने पक्षमा उनी रहेका छन् । त्यसमा काठमाडौं महानगरको मेयर बालेन पनि सहमत छन् ।
भूमाफिया चाम्लिङलगायतले अतिक्रमण गरेको संरचना हटाउने अभियानमा पर्यटनमन्त्री श्रेष्ठ निकै सक्रिय छन् । उनको यो अभियानलाई सार्थक बनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन पनि दृढ रुपमा उभिएका छन् ।
पत्र काट्नु भनेको ती अनधिकृत संरचनामा भाडा तिरेर बसेकालाई हटाएर संरचना खाली गराउनका लागि महानगरले समय दिएको रुपमा बुझ्नु पर्ने महानगरका अधिकारीहरु बताउँछन् । तर दुर्गा प्रसाईका भाइ युवराज लगायत भने भाडामा लिनेलाई ‘म मिलाउँछु नछोड’ भनेर भाडा खाइरहेको वडाका अधिकारीहरू सुनाउँछन् । वडाध्यक्ष केसी समयभित्रै प्रमाण लिएर नआउनेको सरकारी जग्गा अतिक्रमण गरेर बनेकोअनधिकृत संरचना हटाउने स्पष्ट पार्छन् । त्यसैका लागि पत्र काटिएको उनको भनाइ छ ।
वडाले पत्र दिएको समय सकिन साथ सरकारी जग्गा हडपेर डा. अहिराज, भूमाफिया चाम्लिङलगायतले बनाएको अनधिकृत संरचनामा डोजर लगाउनु पर्ने पर्यटनमन्त्री श्रेष्ठको अडान छ । अनधिकृत संरचनामा भाडा तिरी बसेका तथा व्यवसाय सञ्चालन गरेकाहरुलाई पनि आफ्नो व्यवस्थापन गर्न उनले आग्रह समेत गरेका छन् । समयभित्रै अनधिकृत संरचनामा डोजर लाग्नु पर्ने पर्यटनमन्त्री श्रेष्ठको धारणा छ ।

क्याटेगोरी : विविध
ट्याग : ## इन्द्र चाम्लिङ, #एमाले नेता हेमराज घिसिङ, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #डा. राजेश झा अहिराज, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #युवराज प्रसाई, #वडाध्यक्ष रामकुमार केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com