महानगरले थाल्यो जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने अभियान


काठमाडौं । काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ ले वडाभित्रका जेष्ठ नागरिकलाई घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको हो ।

महानगरपालिकाको वडा नम्बर २९ कार्यालयले ईजी हेल्थ केयरसँगको सहकार्यका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य अवस्था जानकारी लिन थालेको छ । महानगरले वडा नम्बर २९ ले पहिलोपटक जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने अभियान थालेको हो । वडा कार्यालयका जनप्रतिनिधि र ईजी हेल्थ केयरका स्वास्थ्य प्रतिनिधि संयुक्त रुपमा जेष्ठ नागरिकको विवरण टिप्न घरदैलोमा पुगेका हुन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ अनामनगरबाट आज घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य विवरण लिने अभियान थालिएको हो । वडा नम्बर २९ की वडा सदस्य रेनु श्रेष्ठका अनुसार घरदैलोमा पुगेर ६८ वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य विवरण लिने काम सुरु गरिएको हो । महानगरभित्रका जेष्ठ नागरिकको  निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले पाइलट प्रोजेक्टका रूपमा वडा नम्बर २९ ले ६८ वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य विवरण लिन थालेको उनको भनाइ छ ।

महानगरले जेष्ठ नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा समेत दिने तयारी गरेको महिला सदस्य श्रेष्ठले बताइन् । गम्भीर प्रकृतिको बिरामी भएका जेष्ठ नागरिकलाई एम्बुलेन्समा हालेर अस्पताल लानु अगाडि घरमा आएर ईजी हेल्थ केयरका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिने उनले जनाइन् । यो अभियान वडा नम्बर २९ मा सफल भएपछि महानगरपालिकाभित्रका ३२ वटै वडामा पुग्ने वडा महिला सदस्य श्रेष्ठले स्वास्थ्य लाइभलाई जानकारी दिएकी छन् ।

अहिले वडाका जनप्रतिनिधि र ईजी हेल्थ केयरका स्वास्थ्यकर्मी मिलेर अनामनगरमा जेष्ठ नागरिकको स्वास्थ्य अवस्था र विवरण संकलन गर्ने काम गरिरहेका छन् । विवरण संकलन गर्ने टोलीमा वडाका जनप्रतिनिधिहरू श्रेष्ठ, संगिता पुजारी र ईजी हेल्थ केयरका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #ईजी हेल्थ केयर, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #जेष्ठ नागरिकलाई घर-घरमा स्वास्थ्य सेवा, #रेनु श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com