स्वास्थ्यमन्त्रीले कर्मचारी सरुवा र उपकरण खरिदलाई उपलब्धि मान्दा घरघरमा डेंगु फैलियो, ७ जनाको मृत्यु 


काठमाडौं ।  १३ असारमा स्वास्थ्यमन्त्रीमा भवानी प्रसाद खापुङ र राज्यमन्त्रीका रुपमा हीराचन्द्र केसीले पदबहाली गरेका थिए । पदबहाली गर्दै दुबै मन्त्रीले स्वास्थ्य क्षेत्रको सुधार गर्न आएको प्रतिवद्धता जनाए । उनीहरुले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले समन्वय गरेर अघि बढ्ने उद्‌घोष गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले अहिलेपनि विकटस्थानमा सिटामल र जीवनजल नपाउने अवस्था रहेको भन्दै त्यो अवस्थाको सुधार गर्न आवश्यक रहेको बताएका थिए । उनले भनेका थिए, ‘मुख्य कुरा टीमवर्क हो । सबैसँग सहकार्य गरेर अघि बढ्छु ।’ कर्मचारीहरुको सहयोगबाटै आफूहरुले सफलता पाउने उनको भनाइ थियो । केसीले भनेका थिए, ‘कर्मचारीको अनुभव र राजनीतिक विचारको समन्वय गरेर स्वास्थ्य मन्त्रालयका गतिविधीलाई अघि बढाउने योजना छ ।’

दुबै मन्त्रीको भनाइ शब्दमा केही फरक होला तर आसय भने एउटै हो । तर, आज दुई महिना पुरा हुदा स्वास्थ्य क्षेत्र सुधारमा भन्दापनि कसरी आर्थिक संकलन गर्ने भन्नेमा जोड गरेको जस्तो बुझिएको छ । देशमा कोरोनाभन्दा भयावह रुपमा डेंगु देखिएको छ । घरघरमा डेंगुका बिरामी छन् । स्वास्थ्यमा निकै जटिलता देखिएपछि मात्रै बिरामी अस्पताल आएका छन् तर, पनि अस्पताल भरिएका छन् ।

साउनदेखि हालसम्म ८ हजार ३२७ जनामा डेंगु पुष्टि भएको छ । यसबीचमा ७ जनाको डेंगुकै कारण मृत्यु भएको छ । सन् २०१९ मा सबै भन्दा धेरै डेंगु फैलदा १७ हजार बढी संक्रमित भएका थिए । त्यस बेला ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् । हाल ७ जनाको मृत्यु भएकोमा ५ जनाको पुष्टि भइसकेको छ । उनीहरुमध्ये तीनजना डेंगुकै कारण मृत्यु भएको पुष्टि भएको छ भने, दुईजनामध्ये एकजनामा डेंगु र स्क्रब टाइफस देखिएको एक जनामा डेंगु र निमोनिया पुष्टि भएको छ । मृत्यु हुनेमा धनगढी, प्युठान, लाहान, कैलाली र तुलसिपुरका छन् । बाँकी दुई जनाको पुष्टि हुने क्रममा रहेको छ । अझै ढेड महिना डेंगुको जोखिममा रहेकाे स्वास्थ्य अधिकारीहरू बताउँछन् । हालसम्म ७५ जिल्लामा डेंगु पुगेको छ ।

घरघरमा डेंगुका बिरामी छन् । तर, स्वास्थ्यमन्त्रीलाई डेंगुका विषयमा कुनै जानकारी छैन । उनी डेंगु महामारी रोक्ने अभियानमा अग्रपंतिमा हुनुपर्नेमा कर्मचारी सरुवा र उपकरण खरिदमा जोड दिइरहेको बुझिएको छ । उनले सपथग्रहण गर्दा गरेको बाचाविपरीत गएर स्वास्थ्यमन्त्रीले कर्मचारी सरुवा र उपकरण खरिदलाई उपलब्धि मानेका छन् ।

वितेको दुई महिनामा खापुङ र केसीले स्वास्थ्य सुधारमा झरेको सिन्को समेत उठाएका छैनन् । यदी जनताको पक्षमा रहेर स्वास्थ्य सुधार गर्न आएको भए घरघरमा बिरामी हुदा र ७ जनाको मृत्यु भइसक्दा डेंगु नियन्त्रणमा संकटग्रस्त क्षेत्र घोषणा गरेर फिल्डमा उत्रिएका हुने थिए ।

२०६१ सालमा पहिलोपटक नेपालमा डेंगु पुष्टि भएको थियो । त्यस यता नियमित रुपमा डेंगु देखिँदै आएको छ । ‘अहिले अन्तर्राष्ट्रिय प्राक्टिसका आधारमा काम गरिरहेका छौं । लार्भा खोज्ने र नष्ट गर्नेबाहेक अरु काम छैन’, डा. दासले भने ।

२०१९ मा डेंगुको सेरोटाइप अध्ययन गरिएको थियो । त्यस बेला सेरोटाइप ‘टु’ देखिएको थियो । सन् २०१९ अगाडि सेरोटाइप ‘वान’ थियो । यो वर्ष सातवटै प्रदेशमा सेरोटाइप अध्ययन गरिरहेको डा. दास बताउँछन् । ‘नमूना संकलन सुरु भएको छ । यसको नतिजा आएपछि कुन सेरोटाइप पैलिएको छ जानकारी हुन्छ’, निर्देशक डा. दासले स्वास्थ्य लाइभसँग भने । स्वास्थ्यका अधिकारीहरू भने स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको ध्यान कर्मचारीको सरुवा र स्वास्थ्य उपकरण खरिदको कमिसनमा केन्द्रित हुँदा डेंगु महामारीको रूपमा फैलिने अवस्था आएको आरोप लगाउँछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #उपकरण, #डेंगु, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी, #स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com