मेरो अस्पतालसँगैको धोबीखोला हडप्नेमा पर्यटन बोर्डका पूर्व प्रबन्धक लिला बानियाँ पनि


काठमाडौं । मेरो अस्पतालसँगैको धोबीखोला हडप्नेमा पर्यटन बोर्डका पूर्व प्रबन्धक (म्यानेजर)  लिलाबहादुर बानियाँ पनि रहेको खुलेको छ । स्वास्थ्य लाइभले साबिक १२७ नम्बर कित्ता हुँदै बग्ने धोबीखोलाको खोजी गर्दा ३ आना ३ पैसा जग्गा पर्यटन बोर्डका पूर्व म्यानेजर बानियाँले हडपेको फेला पारेको हो ।

नगर १० सिट नम्बर ११८५-०४ को हालको कित्ता नम्बर १८ को ३ आना ३ पैसा जग्गा बानियाँको नाममा दुषित दर्ता भएको खुल्न आएको छ । बानियाँलाई पर्यटन बोर्डका तत्कालीन सिईओ सुभाष निरौलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको थियो । यद्यपि उनले भ्रष्टाचारको मुद्दाबाट सफाइ पाइसकेका छन् ।

लिला बानियाँ

स्वास्थ्य लाइभको टोली फिल्डमा पुग्दा बानियाँले हडपेको जग्गामा भाडामा बस्नेहरूले उनी अमेरिकामा रहेको बताए । उनी अमेरिकामा रहेकाले स्वास्थ्य लाइभले टिमले सम्पर्क गर्न सकेन ।

साबिक नगर १० बुद्धनगरको कित्ता नम्बर १२७ हुँदै बग्ने धोबीखोलाले २०२८ सालतिर धार परिवर्तन गरेपछि बानियाँसहितका झन्डै ३ दर्जन व्यक्तिले धोबीखोला नदी उकाशको ९ रोपनी जग्गा दुषित दर्ता गराएको फेला परेको छ ।

धोबीखोलाले धार परिवर्तन गरेसँगै भूमाफियाहरुले मौका फाइदा उठाएर धोबीखोला आफ्नो नाममा पुर्‍याएको देखिन्छ ।

बुटवल पावर कम्पनीका रहेको  ठाउँमा झन्डै १ रोपनी जग्गा सेनाका पूर्व हाकिम बिक्रान्त शाहको नाममा पुगेको बुद्धनगर विकास समितिले २०६२ सालमा तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा हालेको निवेदनमा  उल्लेख छ ।

त्यस्तै गृहसचिवको समेत जिम्मेवारी सम्हालेका लोकसेवा आयोगका पूर्व सदस्य गोविन्द कुसुमले पनि १ दाम धोबीखोलाको जग्गा हडपेको पाइएको छ । कुसुमकी श्रीमती तेजलक्ष्मी ध्वोजुको नाममा १ दाम धोबीखोलाको जग्गा घुसेको पाइएको हो । बुद्धनगर विकास समितिका अध्यक्ष किरण तण्डुकारका अनुसार गोविन्द कुसुमले उक्त जग्गा अर्के लाई बेचेर हिँडिसकेका छन् । ध्वोजुको नाममा दर्ता भएको जग्गा सिट नम्बर ११४५-२५ को १४० को १ दाम जग्गा हो ।

त्यस्तै जग्गा कारोबारी गर्ने रमेश भण्डारीले पनि १ आना १ दाम जग्गा दुषित दर्ता गराएर सुरज श्रेष्ठलाई बेचेको खुलेको छ । प्रेमलाल तण्डुकार दुषित दर्ता गराएको धोबीखोलाको साढे ३ आना जग्गा पनि अर्कैलाई बेचेर घर बनाइरहेको पाइएको छ ।

धोबीखोलाको धेरै जग्गा हडप्नेमा धनबहादुर पुनले ११ आना, चिरञ्जीवी उपाध्याय १० आना, दशमाया ज्यापुनीले ९ आना,फत्यध्वज थापा ७ आना, बुद्धिराज राई ६ आना, राजकुमारी शाह ६ आना रहेका छन् । त्यस्तै विष्णुप्रसाद राई ५ आना, देवबहादुर गिरी ५ आना कान्छी महर्जन ५ आना, इन्द्रबहादुर भट्टराई ३ आना, रत्नमाया श्रेष्ठ २ आनालगायत ३२ जनाले झन्डै ९ रोपनी धोबीलाको जग्गा हडपेका छन् ।

मालपोत ऐन २०३४ को दफा २४ (२) ले मालपोत प्रमुखलाई यस्तो जग्गा तत्काल सरकारको नाममा फिर्ता ल्याउने अधिकार दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तत्काल कदम नचाल्ने हो भने उक्त धोबीखोलाको जग्गामा ठूल्ठूला संरचना बन्ने सम्भावना देखिन्छ ।

२०६२ सालमै धोबीखोलाको जग्गा हडपेको उजुरी परेपनि अहिलेसम्म भूमि व्यवस्था मन्त्रालयले कुनै कदम नचाल्नु आश्चर्यको कुरा हो । यो विषयमा भूमि मन्त्रालयको नेतृत्वले चासो लिनु र अख्तियारले झक्झक्याउन जरुरी छ ।

भूमि सुधार मन्त्रालय र अख्तियारले यो विषयमा सीध्र छानबिन गरी कारबाही नगर्ने हो भने धेरै व्यक्ति ठगिने अवस्था छ । धोबीखोला हडप्नेहरुले अरुलाई उक्त जग्गा बेच्दै हिँड्न थालेकाले किन्ने मान्छेहरू ठगिएका छन् । यी जग्गा धोबीखोलाको भएकाले तत्काल सरकारको नाममा फिर्ता ल्याउन अख्तियारले निर्देशन दिनुपर्छ ।

 

 

 

क्याटेगोरी : सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #गोविन्द कुसुम, #धोबीखोला, #पर्यटन बोर्ड, #बुटवल पावर कम्पनी, #बुद्धनगर, #मेरो हस्पिटल, #लिला बहादुर बानियाँ, #सरकारी जग्गा धोबीखोला हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com