बुद्धनगर मेरो हस्पिटलसँगै बुटवल पावर कम्पनीसहितले ९ रोपनी सरकारी जग्गा हडपे


काठमाडौं । बुद्धनगरस्थित मेरो अस्पतालसँगै रहेको धोबीखोला करिडोरमा बुटवल पावर कम्पनीसहितले ९ रोपनी सरकारी जग्गा हडपेको खुल्न आएको छ । धोबीखोला नदी उकाशको उक्त जग्गा ३२ जना व्यक्तिको नाममा दुषित दर्ता भएको खुल्न आएको हो ।

२०२३ सालसम्म धोबीखोला बग्ने उक्त स्थानमा अहिले बुटवल पावर कम्पनीका जग्गाधनी विकान्त शाहससहित विभिन्न व्यक्तिले हडपेको पाइएको छ । उक्त विषयमा बुद्धनगर विकास समितिले भूमिमन्त्रीलाई प्रमाणसहित निवेदन दिएपनि अहिले पनि धोबीखोला नदी उकाशको उक्त जग्गामा व्यक्ति विशेषले रजाइँ गरिरहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० अन्तर्गत धोबीखोला नदी उकाशको ९ रोपनी बढी जग्गा हडपेको बुद्धनगर विकास समितिका अध्यक्ष किरण तण्डुकारले बताए । २ रोपनी बढी जग्गा फिर्ता आइसकेपनि अझै ७ रोपनी जग्गा व्यक्ति विशेषले हडपिरहेको उनको भनाइ छ । २०२१ सालको नापी नक्सामा धोबीखोला बहाब क्षेत्र (पानी बगेको ठाउँ) र किनारको बाटो डिल प्रस्टै देखिएको ठाउँ अहिले व्यक्तिको कब्जामा पुगेको अध्यक्ष तण्डुकारले प्रस्ट पारे । बुटवल पावर कम्पनीका जग्गाधनी बिक्रान्त शाहसहित ३२ जनाले धोबीखोला नदी उकाशको जग्गा हडपेको भनेर २०६३ सालमै तत्कालीन भूमि सुधार तथा व्यवस्थामन्त्रीलाई निवेदन दिएपनि अहिलेसम्म सुनुवाई नभएको उनको गुनासो छ ।

२ रोपनी ३ आना जग्गा भने त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलगायतका व्यक्ति र बुद्धनगर विकास समितिको संयुक्त पहलमा फिर्ता आएको अध्यक्ष तण्डुकारले जनाए ।
मेरो हस्पिटलसँगै रहेको धोबीखला नदी उकाशको ३ अर्ब बढी बजार मूल्य पर्ने उक्त जग्गा  भूमाफियाहरुले हडपेको देखिन्छ । भूमाफियाहरुले कब्जा गरी उपभोग गरिरहेको नदी उकाशको उक्त सरकारी जग्गा जोगाउन अहिले गंगादेवी चूचोल टोल सुधार समितिको नाममा संगठित रुपमा लागिपरेको खुल्न आएको छ ।

सरकारी जग्गा हडप्नेहरुले नदी उकाशको जग्गामा राजस्व बुझाएर लालपुर्जा पाउने व्यवस्था मिलाउन निवेदन दिएको समेत स्वास्थ्य लाइभले फेला पारेको छ । आफूहरूले नदी उकाशको जग्गामा लालपुर्जा पाए ‘समृद्ध नेपाल खुसी नेपाली’को चाहना पूरा हुने भन्दै बजेट भाषणमै नदी आकाशका सम्पूर्ण जग्गामा राजस्व बुझी जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सरकारलाई निवेदन दिएको खुल्न आएको छ । उक्त निवेदनबाट सरकारी जग्गा संगठित रूपमा खान खोजेको देखिएपनि सरकार मौन बसेको पाइएको हो ।

मकै भाँचेर सरकारी जग्गा संरक्षण गर्दै

भूमाफियाहरूले बजेट वक्तव्यमा नै बुद्धनगरस्थित नदी उकाशको उक्त जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने व्यवस्था मिलाउन दबाब दिँदै आएका थिए । तर त्यहाँबाट पार नलागेपछि मालपोतका कर्मचारीसँग सेटिङ गरेर कतिपयले आफ्नो नाममा ल्याइसकेका छन् ।

२०२३ सालमा धोबीखोलाले बहाब परिवर्तन गरेपछि साविक महादेवस्थान गाविस वडा नम्बर ९ ‘ग’ कित्ता नम्बर १५७ को क्षेत्रफल ५७ रोपनी १२ आना जग्गा नदी उकाशको सरकारी जग्गा हुन पुगेको थियो । त्यही जग्गामध्ये केही व्यक्ति विशेषको नाममा दर्ता भइसकेको छ । व्यक्ति विशेषको नाममा दुषित दर्ता भएको करिब ३ रोपनी जग्गा सर्वोच्च अदालतको फैसलाले पुनः सरकारको नाममा फिर्ता आइसकेको छ । अहिले नदी उकाशको उक्त जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराउन फेरि भूमाफियाहरु सक्रिय भएका छन् ।


मालपोत ऐन २०३४ को दफा २४ अनुसार सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएपनि मालपोत कार्यालयले बदर गर्न सक्ने व्यवस्था छ । त्यहिँ व्यवस्थालाई टेकेर व्यक्तिको नामको दर्ता लगत कट्टा गरी सरकारी कायम गराउन बुद्धनगर विकास समिति भूमि सुधारमन्त्री समक्ष पुगेको हो । तर १५ वर्ष बढी भइसक्दा पनि भूमाफियाले हडपेको धोबीखोला नदी उकाशको उक्त सरकारी जग्गा व्यक्ति विशेषको नामबाट फिर्ता आउन सकेको छैन । उक्त जग्गा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिनु पर्ने सरोकारवालाहरुको माग छ ।

करिब एक सय जना स्थानीयले व्यक्ति विशेषले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन निवेदन दिएको पाइन्छ । तर भूमि मन्त्रालय उक्त जग्गा फिर्ता ल्याउनेमा भूमिकाविहीन देखिन्छ ।

बुद्धनगरस्थित नदी उकाशको सरकारी जग्गा हडप्नेहरु
सिट नम्बर ११४५–२०
विक्रान्त शाहसमेत १ रोपनी

सिट नम्बर ११४५–२५
धनबहादुर पुन ११ आना
कान्छी तण्डुकारसमेत १ रोपनी १५ आना
दशमाया ज्यापुनी १० आना
प्रेमलाल तण्डुकार साढे ३ आना
बुद्धिराज राई ६ आना
विष्णुप्रसाद राई ५ आना
राजकुमारी शाह ६ आना
फत्यध्वज थापा ७ आना
कान्छी महर्जन ५ आना
इन्द्रबहादुर भट्टराई ३ आना
हरिप्रसाद कँडेल २ आना
विनोदप्रसाद आचार्य २ आना
रमेश भण्डारी २ आना
मानज्योती बज्राचार्य १ आना
सवीना जोशी १ आना
तेजलक्ष्मी ध्वोजु १ दाम
कल्पना श्रेष्ठ १ दाम
दुर्गादेवी चुडाल १ दाम

सिट नम्बर ११४५-०५

चिरञ्जीवी उपाध्याय ११ आना
रत्नमाया श्रेष्ठ २ आना
देवबहादुर गिरी ६ आना
लिला बानियाँ ४ आना
नाम खाली १ रोपनी

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #किरण तण्डुकार, #दिपेन्द्र श्रेष्ठ, #बुटवल पावर कम्पनी, #बुद्धनगर विकास समिति, #सरकारी जग्गा दर्ता

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com