कोरोनाकाल कै आदेश अनुसार अक्सिडेन्टल स्कुलमा डोजर लगाउने बालेनको तयारी


काठमाडौं । कोरोनाकाल कै आदेश अनुसार अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस)मा डोजर लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तयारी छ ।

मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार अक्सिडेन्टल पब्लिक स्कुल १/३ दिनभित्रै डोजर लगाउने महानगरको तयारी छ । अक्सिडेन्टल पब्लिक स्कुलमा डोजर लगाउनका लागि मेयर बालेनले निर्देशन दिइसकेको उनले जानकारी दिए ।

स्वास्थ्य लाइभले स्वास्थ्य मन्त्रालय मात्र होइन अनामनगरको ओपीएस भत्काउने आदेश समेत अलपत्र परेको तथ्य सार्वजनिक गरेपछि उक्त संरचना भत्काउन महानगर तातेको हो ।  बिगत २५ वर्षदेखि अक्सिडेन्टल पब्लिक स्कुलले अतिक्रमण गरेर बनाएको संरचना भत्काउन काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब दुई वर्ष अगाडि आदेश दिएका थिए । अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस)ले सरकारी जग्गा अतिक्रमण गरेर बनाएको टहरा तथा पर्खाल भत्काउन आदेश दिएर पनि मिलेमतोमा अहिलेसम्म अतिक्रमित पर्खाल भत्किएको छैन ।

काठमाडौं महानगरपालिकाको आदेशपछि अतिक्रमित टहरा भत्काएर पर्खालसहितको कम्पाउण्ड अझैं पनि कब्जामा लिएको पाइन्छ । स्वास्थ्य लाइभको टोली फिल्डमा पुग्दा सरकारी जग्गामा पर्खाल हालेर बनाएको कम्पाउण्डमा अक्सिडेन्टल स्कुलले गाडी पार्किङका लागि उपभोग गरिरहेको फेला परेको हो । २५ वर्षदेखि उक्त सरकारी जग्गामा कम्पाउण्ड र टहरा हालेर रजाइँ गरिरहेको देखिन्छ ।

सामाजिक विकास समाज, अनामनगरले काठमाडौं महानगरपालिमा हालेको निवेदनमा काठमाडौं महानगरपालिका-३२ अनामनगरस्थित सिट नम्बर ११०६-२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा टेकबहादुर पौडेल कुलबहादुर निरौलालगायतले कब्जागरी निजी स्कुल सञ्चालन गर्दै आएको उल्लेख छ । उक्त निवेदनको सुनवाई गर्दै महानगरले अक्सिडेन्ललाई सरकारी जग्गामा गैरकानुनी र अनधिकृत पर्खाल तथा टहरा हटाउन ३५ दिनको म्याद दिएको थियो । तर दुई वर्षसम्म पनि पर्खाल नभत्काएर उक्त स्कुलले रजाइँ गरिरहेको खुल्न आएको हो ।

तत्कालीन मेयर शाक्यले सरकारी जग्गामा व्यक्ति विशेषले पर्खाल तथा टहरा निर्माण गर्ने कार्य अनधिकृत र गैरकानुनी भएकोले सो कित्ता नम्बर १० मा बनेको पर्खाल तथा टहरा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ (४) बमोजिम भत्काउने महानगरको निर्णय छ । साथै, सो स्थानको संरक्षण गर्ने जिम्मा वडा नम्बर २९ को वडा कार्याललाई दिन उपयुक्त देखिएकाले सो प्रयोजनका लागि यो निर्णयको जानकारी वडा कार्यालयलाई दिने आदेश भएको फेला परेको हो । तर वडा कार्यालयले अक्सिडेन्टल स्कुलले हडपेको सरकारी जग्गा अहिलेसम्म अनदेखा गरिरहेको रहस्य खुलेको हो ।

अक्सिडेन्टल स्कुलले पर्खाल लगाएर कम्पाउण्डभित्र हालेको १ रोपनी बढी जग्गामा २९ नम्बर वडा कार्यालय बनाउनु पर्ने अनामनगरका स्थानीयहरूले माग राख्दै आएका छन् ।धोबीखोला नदी उकाशको सरकारी जग्गा टेकबहादुर पौडेल कुलबहादुर निरौलालगायतको नाममा दुषित दर्ता भएको थप ८ आना जग्गा पनि नेपाल सरकारको नाममा फिर्ता आइसकेको छ । धोबीखोला करिडोरमा रहेको उक्त वडा कार्यालय बनाउन उपयुक्त जग्गामा अन्सिडेन्टल स्कुलले २५ वर्षदेखि निजी व्यवसाय सञ्चालन गरेर लुट मच्चाइरहेको देखिन्छ । काठमाडौं महानगरपालिकाको मेयर बालेन आएसँगै अक्सिडेन्टलले २५ वर्षबढीदेखि कब्जमा लिएको उक्त सरकारी जग्गामा डोजर चल्ने भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस), #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #डोजर, #सरकारी जग्गा अनामनगर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com