पूर्व स्वास्थ्यमन्त्री गगन थापादेखि प्रकाशमानसम्मले थाले घरदैलो


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापादेखि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले चुनावी घरदैलो अभियान थालेका छन् ।

कांग्रेसका महामन्त्री थापाले चाबहिलस्थित गणेश मन्दिरबाट घरदैलो अभियान सुरु गरेका हुन् भने कांग्रेसका पूर्व महामन्त्री सिंहले बानेश्वर हाईट सानो गौचरणबाट घरदैलो अभियान थालेका छन् ।

प्रतिनिधिसभा काठमाडौं क्षेत्र ४ बाट उम्मेदवार बनेका कांग्रेस नेता थापाले प्रदेशसभा ४(१)का उम्मेदवार श्रीराम लामिछानेलाई साथमा लिएर आज बिहानबाट घरदैलो अभियान सुरु गरेका हुन् । उक्त क्षेत्रमा नेकपा एमालेलगायत अरु उम्मेदवारले पहिला नै घरदैलो अभियान सुरु गरिसकेका छन् ।

यता प्रतिनिधिसभा काठमाडौं क्षेत्र १ बाट उम्मेदवार बनेका कांग्रेस नेता सिंहले प्रदेशसभा १(१)का उम्मेदवार दिपेन्द्र श्रेष्ठलाई साथमा लिएर बानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनमा हिजोबाट चुनाव प्रचार-प्रसार र घरदैलो गर्न बाटो खुला गरेपछि गगन र प्रकाशमानले घरदैलो अभियान सुरु गरेका हुन् । अन्य उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत एकपटक घरदैलो अभियान सुरु गरिसकेका छन् ।

कार्तिक १७ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम, राप्रपाका रवीन्द्र मिश्र, रमेश खरेललगायतले एकचरण घरदैलो अभियान सकिसकेका छन् । राष्ट्रिय दलका उम्मेदवारहरुले भने हिजोबाट मात्र घरदैलो अभियान सुरु गरेका हुन् । काठमाडौंको ४ मा गगन र १ मा प्रकाशमानले भने आजबाट घरदैलो थालेका हुन् ।

घरदैलो अभियान सुरु गर्दै गगनले स्वास्थ्य र शिक्षामा विशेष योगदान पुर्‍याउने बताए । संविधान कार्यान्वयन, विकास र समृद्धिका लागि प्रकाशमानले भोट मागे ।

क्याटेगोरी : समाचार
ट्याग : #दिपेन्द्र श्रेष्ठ, #निर्वाचन घरदैलो, #पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #श्रीराम लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com