महिलाको स्वास्थ्य र सशक्तीकरणमा विशेष योगदान दिन्छौं : दिपेन्द्र श्रेष्ठ


काठमाडौं । बागमती प्रदेशसभा सदस्य काठमाडौं क्षेत्र नम्बर १(१)बाट उम्मेदवार बनेका दिपेन्द्र श्रेष्ठ महिलाको स्वास्थ्य र सशक्तीकरणमा विशेष योगदान दिने बताएका छन् । लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा स्वास्थ्य लाइभसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महिलाविरुद्धका हिंसा र लैङ्गिक विभेदका विषयमा आफूले प्रदेशसभामा आवाज बुलन्द पार्ने नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका श्रेष्ठको भनाइ छ ।

उद्यमशील समाज निर्माणका लागि महिलाको विशेष भूमिका रहने बताउँदै उनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरू ल्याउन प्रदेश सरकारलाई दबाब दिने स्पष्ट पारे । महिलालाई उद्यमशिलतासँग जोड्न तथा आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सशक्त र आत्मनिर्भर बनाउन होमस्टे व्यवसायलाई विशेष प्रोत्साहन गर्न आफूले प्रदेश मन्त्रीको हिसाबमा विशेष भूमिका खेलेको भन्दै संस्कृति तथा पर्यटनमन्त्री समेत रहेका श्रेष्ठले यसलाई अझ  प्रभावकारी कार्यान्वयन गरिने धारणा राखे ।

महिलाविरुद्ध हुने हिंसा र महिलाको राजनीतिक, सामाजिक, आर्थिक सांस्कृतिक र संवैधानिक तथा कानुनी अधिकारका पक्षमा आफू सधै उभिने उनको प्रतिबद्धता रहेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा वडास्तरमै नर्सिङ सेवासहितको स्वास्थ्य सेवा केन्द्र खोलेर महिला स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर दिने र महिलाको स्वास्थ्य सेवामा विशेष ध्यान दिन उम्मेदवार श्रेष्ठको अवधारणा छ ।

वडास्तरमै स्वास्थ्य परीक्षण प्रयोगशाला खोलेर महिलामा हुने पाठेघरका समस्यालगायत अन्य किसिमका सामान्य परीक्षणहरू निःशुल्क रुपमा गराउने योजना समेत आफूहरुको रहेको उनले सुनाए ।

महिलालाई रोजगारीसँग जोड्ने हिसाबले संघीय सांसदका उम्मेदवार प्रकाशमान सिंह र आफू मिलेर आफ्नो निर्वाचन क्षेत्रमा प्रशिक्षण केन्द्र स्थापना गर्ने उनको योजना छ । ‘रोजगारीका लागि सीप आवश्यकता छ । बजारमा दक्ष जनशक्तिको अभाव छ । उक्त अभाव पूर्ति गर्नका लागि क्षेत्रभित्र एउटा स्तरीयरीय तालिम तथा प्रशिक्षण केन्द्र बनाउने योजना छ । यसका लागि संघीय सांसदका उम्मेदवार प्रकाशमान सिंह पनि उत्साहित हुनुहुन्छ । यो काम चुनाव जितेर गएसँगै हामी अगाडि बढाउँछौं ।’, प्रदेशसभा सदस्यका उम्मेदवार श्रेष्ठले स्वास्थ्य लाइभसँग भने । महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउन सकिने उनको धारणा रहेको छ ।

विगतमा पनि महिलाका मुद्दालाई प्राथमिकताका साथ दिँदै आएको बताउँदै श्रेष्ठले आगामी दिनमा झन् यो विषयलाई विशेष रुपमा उठाउने अठोट लिएका छन् । आफ्नो राजनीतिक आदर्श र गुरू आमा रुपादेवी श्रेष्ठ रहेको बताउँदै उनले नारी शक्तिलाई सम्मान गर्न सके मात्र घर, परिवार, समाज र राष्ट्र सभ्य र समृद्ध बन्ने प्रस्ट पारे ।

लैंङ्गकि र वर्गीय विभेदका विषयमा सधै बोल्ने गरेको भन्दै उनले आफू मंसिर ४ मा हुने आम निर्वाचनमा निर्वाचित भए प्रदेशका कानुन लैङ्गिक समानता कायम हुनु गरी बनाउनका लागि भूमिका खेल्ने उनको भनाइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आम निर्वाचन, #दिपेन्द्र श्रेष्ठ, #प्रकाशमान सिंह, #बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com