के लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले बढ्दै गएको हिँसाका घटना रोक्ला ?


काठमाडौं । मङ्सिर ९ गतेबाट विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन गरिएको छ ।

सरकारी तथ्यांकहरुले देखाए अनुसार पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका छन् । जसका कारण समाजमा जागरण ल्याउने उद्देश्यले यो १६ दिनसम्म देशैभर विशेष अभियान संचालन गरिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन गर्ने गरिएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ ।

यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदीबहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाविरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उप सचिव रोशनी कार्की नेपालमा बि.स २०५४ साल देखि प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउँन १६ दिन सम्म कुनै न कुनै कार्यक्रम गर्दै आएको बताउँछिन् । यस अभियानकोबीचमा अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस, विश्व एड्स दिवस, अन्तर्राष्ट्रिय दासता मोचन दिवस, अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस पर्छन् । कार्की भन्छिन्, ’डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवस मनाउनुपर्ने समेत आवाजहरु बाहिर प्रखर रुपमा उठिरहेका छन् ।,’

अभियानको उद्देश्य

  • लैगिक हिँसा मानव अधिकार हनन हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विकास गरी साझा अवधारणा तय गर्नु ।
  • लैगिक हिंसाविरुद्ध पुरुषहरुको सहकार्य विस्तार गर्नु ।
  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा संलग्न सरकार सरोकार संघ संस्था, विकास साझेदार, निजी क्षेत्र नागरिक समाज सबैलाई ऐक्यवद्धता जाहेर गराउनु ।
  • अन्रताष्ट्रिय दायित्व, दिगो विकासका लक्ष्य पूरा गर्दै लैगिक समानतामूलक राष्ट्र निमार्ण गर्नु ।

यस्तो छ देशको अवस्था

अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को बि.स २०७९ साउन १ देखि मंसिर ९ गतेसम्मको ४८ वटा ओसिएमसीबाट प्राप्त तथ्यांक अनुसार विभिन्न नामको हिंसामा परेका २१ सय नागरिकले सेवा लिएका छन् ।

स्वास्थ्य मन्त्रालय लैङ्गिक समानता तथा सामाजिक समावेशिता शाखाकी नर्सिङ अधिकृत सुना लक्ष्मी कर्मचार्यका अनुसार देशभर ९४ स्वास्थ्य संस्थाबाट उक्त संख्यामा पीडितले सेवा लिएका छन् । वितेको आठ महिनामा खुलेरै २१ सय पीडित सेवाका लागि आउँनु भनेको सामान्य विषय नभएको उनको भनाइ छ ।

तथ्यांक अनुसार १० वर्षभन्दा कम उमेरदेखि ६० वर्षभन्दा माथिकासम्म हिंसामा परेका छन् । अपांगता भएका ४० जना पीडितले सेवा पाएका छन् । तथ्यांक अनुसार मेडिकल लिगल सेवा ८४९ र मनोसामाजिक परामर्श सेवा २०२६ जनाले लिएका छन् । हिंसामा परेका ३४५ जनालाई सेवा सुविधाबाट बन्चित गरिएको छ । परम्परागत हिँसा २० जना, बाल विवाह १५७ जना, यौन दुर्रव्यवहार २९१ जना, बलात्कारजन्य आरोपमा ५८० जना, शारीरिक हिंसामा ८०२ जना परेका छन् ।

हिंसामा पर्ने समूह

८ महिनामा ब्राम्हण समूहमा ४८८ जना हिँसामा परेका छन् । त्यस्तै दलित ४५६ जना, जनजाती ५११ जना, जनजाती ५६१ जना, मधेशी २७३ जना, मुस्लिम ९१ जना र अन्य ६१ जना हिंसामा परेर देशका बिभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com