के सुकुम्बासी डाक्टर हुन पाउँदैन ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले थापाथलीमा डोजर लगाउने अभियान थालेपछि सुकुम्बासीहरु प्रतिकारमा उत्रिए । उनीहरू नगर प्रहरीमाथि हिंसात्मक ढंगले जाइलागे । सुकुम्बासी बस्तीमा झडप भएर नगर प्रहरी घाइते भएपछि महानगरपालिका बस्ती हटाउने अभियानमा रोकिएको छ ।

काठमाडौं महानगरपालिकाले सबै निकायसँग समन्वय गरेर सुकुम्बासी बस्तीको विषयमा निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।

महानगरपालिकाको अभियानपछि सुकम्बासीमा बस्ने व्यक्तिहरुका विभिन्न कुरा बाहिर आएका छन् ।

 

कसैले घर धादिङ भएको छोरा जर्मनी रहेको र आफू सुकुम्बासी भएको प्रतिक्रिया दिएका छन् । कसैले छोरी डाक्टर रहेको, छोरा इन्जिनियर रहेको प्रतिक्रिया दिएको पाइन्छ । छोराछोरी अष्ट्रेलिया अमेरिका रहेको र आफू सुकुम्बासी बस्तीमा बसिरहेको थापाथलीका केही सुकुम्बासीले प्रतिक्रिया दिएका छन् ।

यसैबीच सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बनेको छ । छोरी डाक्टर भएकी एक महिलाले आफू सुकुम्बासी रहेको अभिव्यक्ति दिएको भिडिओले सामाजिक सञ्जाल तताएको छ ।

फेसबुक र टिकटकमा भाइरल उक्त भिडिओमा एक महिलाले जन्मेकै म यहाँ । भनेपछि मेरी छोरी डाक्टर भइ हैन । मैले पढाए । मैले भाडा मोलेर पढाए । कुचो लगाएर पढाए । दुनियाँ दुःख गरे । हैन, भत्काएको थिएनर मैले मेरो छोराछोरी डाक्टर इन्जिनियर पढाएर अहिले मेरो छोरी गाडी चढेर हिँडी भने मेरो छोरी त सुकुम्बासी हो नि त ! जन्मेको यहाँ, हुर्केको यहाँ, सुष्टि गरेको यहाँ, आमा सुकुम्बासी के भन्छ त्यसलाई भनेर प्रश्न गरेकी छिन् ।

भाइरल उक्त भिडिओमा डाक्टर पनि सुकुम्बासी भनेर धेरैले उडाएका छन् । फेरि कतिपयले  सुकुम्बासिले दु:ख मेहेनत गरेर सम्पन्न हुन पाइन्छ कि पाइँदैन ? सुनका गहना लगाउन पाइन्छ कि पाइदैन ? गाडी, मोटरसाइकल चढेर हिँड्न पाइन्छ ति  पाइँदैन ? दु:ख मेहनत गरि छोराछोरी डाक्टर इन्जिनियर बनाउन पाइन्छ कि पाइँदैन ? सुकुम्बासी विदेश गएर पैसा कमाउन, घर बनाउन पाइन्छ कि पाइँदैन भनेर उनीहरुको बचाउ गरेको पाइन्छ ।

भूमि सम्बन्धी ऐनले भूमिहीन सुकुम्बासीको परिभाषा गरेको छ । ‘भूमिहीन सुकुम्बासी’  भन्नाले नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको र आफ्नो वा परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट प्रबन्ध गर्न असमर्थ व्यक्ति सम्झनु पर्दछ र सो शब्दले निजप्रति अश्रित परिवारका सदस्यलाई समेत जनाउँछ ।

यो परिभाषाले डाक्टर/इन्जिनियर छोराछोरी भएको गाडी चढ्ने हैसियत बनाएको व्यक्तिलाई सुकुम्बासी मान्न सक्ने अवस्था देदिँदैन । विदेश गएका परिवारका सदस्यले पनि आयआर्जन, स्रोत वा प्रयासबाट घर जग्गाको प्रबन्ध गर्न सक्ने भएकाले कानुनले त्यस्ता व्यक्तिलाई ‘भूमिहीन सुकुम्बासी’ मान्न नसकिने स्पष्ट पारेको छ । त्यस्ता व्यक्तिले गलत विवरण भररेर जग्गा लिएमा साे जग्गा जफत भई ३ महिना कैद हुनेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##डीन, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #भूमिहीन सुकुम्बासी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com