सिभिल अस्पतालसहित यी हुन् लेखा अधिकृतका लागि ‘टप टेन’ मालदार अड्डा


काठमाडौं । राष्ट्र सेवकका रुपमा चर्चित कर्मचारीहरुले अस्पताललाई समेत मालदार अड्डाको रुपमा लिने गरेको पाइएको छ । कात्रोबाट समेत कमिसन खान पल्किएका भनिएका लेखाका कर्मचारीहरू काठमाडौंका सिभिल, वीर र चितवनको भरतपुर अस्पतालमा सरुवा भएर जान हानथाप गर्दै आएका छन् ।

सिभिल अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लेखा अधिकृतहरु सरुवा भएर जाने रोजाइका १० कार्यालय (टप टेन) भित्र पर्ने महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)का उच्च अधिकारीहरु स्वास्थ्य लाइभसँग बताउँछन् । यी अस्पताल र प्रयोगशालामा उपकरण खरिद गर्दा मोटै कमिसन रकम हात पर्ने हुँदा त्यहाँ जान लेखा अधिकारीहरुको हानथाप हुने मलेनिका कै अधिकारीहरू सुनाउँछन् ।

लेखा नमिलाई कुनै पनि प्रकारको आर्थिक लाभ गर्न नसकिने भएकाले लेखाका अधिकृतहरू पैसा बुझाएर पनि ती मालदार अड्डामा जान मरिहत्ते गर्ने गरेको मलेनिकाका अधिकारीहरू स्वीकार्छन् । आर्थिक लेनदेनले बद्नाम हुँदै गएको लेखा समूह यस्तै मालदार अड्डा र कर्मचारीले गर्दा माथि उठ्न नसक्ने देखिन्छ । यी टप टेन मालदार अड्डामा बसेका कर्मचारीको सम्पत्ति छानबिन नहुँदा खुलेआम उठ्तीधन्दा चल्ने गरेको महालेखा बसिसकेका नेपाल सरकारका एक सचिवले स्वास्थ्य लाइभलाई बताए । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष रुपमा नै चासो दिएर ती कर्मचारीमथि छानबिन गर्नुपर्ने ती सचिवको भनाइ छ ।

हालै भएको ११८ लेखा अधिकृतहरुको सरुवामा लेखा अधिकृतहरु जान मरिहत्ते गर्ने सस्पेन्सन वृज, ललितपुर डिभिजनमा महालेखा परीक्षकको कर्मचारी प्रशासन शाखाका श्रीराम शर्मा गएका छन् । लेखाका उपसचिवका लागि एक नम्बर रोजाइमा सडक विभाग परेजस्तै लेखा अधिकृत प्रमुख हुने सस्पेन्सन वृज लेखा अधिकृतको पहिलो रोजाइमा पर्दै आएको छ ।

लेखा उपसचिका लागि मालादार अड्डाका रुपमा परिचित सडक विभागमा कप्रमा बसेका उपसचिव आफै सरुवा भएर गएजस्तै सस्पेन्सन वृजमा कप्रका अधिकृत शर्मा गएका छन् । त्यसपछिको लेखा अधिकृतको रोजाइमा परेको पर्यटन विभागमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको निजी सचिवालयमा कार्यरत कृष्ण बहादुर केसी खत्री जान सफल भएका छन् । त्यस्तै कर्मचारी संगठनका नेता समेत रहेका लेखा अधिकृत नवराज भट्टराईले डिभिजन सडक कार्यालय, भक्तपुरमा बाजी मारेका छन् ।

लेखा अधिकृतहरुको लागि रोजाइमा परेको आर्कषक ठाउँ निजामती अस्पतालमा लेखानाथ कोइरालालाई पदस्थापन गरेर पठाइएको छ । यसले उनी निकै शक्तिशाली रहेको पुष्टि हुन्छ । सिभिलपछि मालदार अड्डाको रुपमा परिचित भरतपुर अस्पतालमा पनि प्रमोद कुमार पोखरेललाई पठाइएको छ । सबै लेखा अधिकृत जान खोज्ने सिभिल अस्पताल र भरतपुर अस्पतालमा नयाँ अधिकृतले बाजी मार्नु रहस्यको विषय बनेको छ ।

लेखा अधिकृत रोजाइमा पर्दै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा शिला खनाल गएकी छिन् । मलेनिकाभित्र यो पनि मालदार अड्डाका रुपमा हेर्ने गरिन्छ । प्रयोगशालापछि लेखा अधिकृतको रोजाइमा पर्ने महाकाली पुल आयोजनामा केशवराज भट्टलाई पदस्थापन गरेर पठाइएको छ ।

लेखा अधिकृतको रोजाइमा पर्ने गरेको वीर अस्पतालमा तिर्थराज गौतम र राष्ट्रिय अभिलेखालय (पुरातत्त्व विभाग) मा ऋषिराम पाण्डेयले बाजी मारेका छन् । यी अड्डापछि विशेष भवन र भवन कार्यालयहरू लेखा अधिकृतहरूको मालदार अड्डामा पर्दै आएका छन् । तर यहाँ बसेर अकृत सम्पत्ति आर्जन गर्ने लेखा अधिकृतमाथि अख्तियारले कुनै छानबिन र कारबही गर्ने आँट गरेको छैन । प्रधानमन्त्री भए नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने सार्वजनिक अभिव्यक्ति दिएका पुष्पकमल दाहाल प्रचण्ड अहिले उक्त कुर्सीमा पुगेका छन् । उनले यी मालादार अड्डामा बसेर रजगज गर्ने लेखा अधिकृतमाथि के गर्छन् हेर्न बाँकी छ ।

त्यस्तै स्वास्थ्य सेवा विभाग, टेकुमा लेखा अधिकृत शम्भुप्रसाद ढकाल गएका छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेखा अधिकृत विनोद दाहाल गएका छन् । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लेखा अधिकृत रञ्जना भट्टको सरुवा गरिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा लेखा अधिकृत तुलसीराम बस्नेत गएका छन् । त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा लेखा अधिकृत ढुण्डीराज दाहाल र  चिकित्सा शिक्षा आयोग, भक्तपुरमा लेखा अधिकृत रमिला मैनालीको सरुवा भएको छ ।

यी हुन् लेखा अधिकृतका लागि ‘टप टेन’ मालदार अड्डा

१, सस्पेन्सन वृज

२, पर्यटन विभाग

३, सडक डिभिजन भक्तपुर

४, निजामती अस्पताल

५, भरतपुर अस्पताल

६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

७, महाकाली पुल आयोजना

८, वीर अस्पताल

९, पुरातत्त्व विभाग

१०, विशेष भवन र भवन कार्यालयहरु

 

 

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com