चिसोमा हातखुट्टा सुन्निने समस्या छ ? यसरी बच्न सकिन्छ


चिसो मौसममा हुने समस्या गर्मी मौसमकोभन्दा फरक हुन्छ । यो मौसममा नाकबाट निरन्तर पानी बग्ने, पिनास हुने वा बल्झिने, छाला चिलाउने, हातखुट्टा फुट्ने, सुन्निने जस्ता समस्याले निक्कै सताउँने गर्छ ।

यसरी हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउँने, छालामा निलो, रातो डाम देखिने समस्या पनि हुन्छ । जसलाई पर्निओसिस भनिन्छ । यस्तो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गर्छ ।

घरमा काम गर्ने बढी भाडा माझ्नुपर्ने, लुगाधुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी मात्रामा देखिन्छ । बिहान स्कुल तथा कलेज जानेहरूमा पनि यो समस्या धेरै देखिने गर्छ ।

हातखुट्टा, कान, नाक, गाला लगायत कपडाले नछोपिने भागमा पर्निओसिसको असर बढी देखा पर्छ । कुनै निश्चित उमेर समूहभन्दा पनि धेरै चिसोपानी चलाउने र चिसो हावामा हिँड्दा यो समस्या हुन्छ ।

पर्निओसिस हुने कारण चिसोमा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ । लुपस बाथको बिरामीलाई पनि यो समस्या हुन्छ । नसा खुम्चिएर रक्तसञ्चारमा अवरोध आई रगत बग्ने, सानासाना नलीहरु खुम्चिन्छन् । रक्तसञ्चारमा गडबडी मुटुरोगका बिरामीमा बढी देखिन्छ । कुनै–कुनै मानिसलाई एलर्जीको कारण पनि यो समस्या देखिने गर्छ ।

लक्षण :
– सुरु हुँदा चिलाउने, सुन्निने निलो, रातो डाम देखिने हुन्छ ।
– कपडाले नछोपिएको शरिरको विभिन्न भागमा चिलाउने हुन्छ ।
– चिसो लागेको भागमा चिलाउनुका साथै पोल्ने, सुन्निने, दुख्ने, घाउ हुने हुन्छ ।
– विस्तारै छालाको रङ परिवर्तन हुन्छ, छाला रातो र गाढा निलो हुने गर्छ । – छालामा पानीको फोका आउने गर्छ ।
– त्यसलाई स्याहार नगरेमा विस्तारै फोका फुटेर घाउ हुने गर्छ ।
– यदि समयमा उपचार गरिएन भने हातखुट्टाका औंला झर्न सक्छ ।
– वंशाणुगत रुपमा पनि सरेर आउने हुन्छ ।

बच्ने उपाय :
जाडोको समयमा यस्तो समस्या देखा पर्नेहरुलाई हरेक जाडो याममा पर्निओसिसको समस्या दोहोरिने गर्छ । एक पटक उपचार गरेर निर्मूल पार्न सकिन्न । यो समस्यालाई घरमा नै उपचार गर्न पनि सकिन्छ ।

– चिसो पानी नचलाउने
– तातो पानी मात्रै प्रयोग गर्ने
– चिसो हावाबाट जोगिने, मोजा पञ्जा लगाएर बस्ने
– घरमा बस्दा खुला कोठामा हिटर बालेर वा आगो तापेर न्यानो भएर बस्ने

– नियमित रुपमा हातमा मोस्चराईजिङ क्रिम लगाउने

उपचार
चिसोबाट बच्नु नै यसको उपचार हो । यदि चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । डाक्टरको सल्लाहअनुसार खाने र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com