आज माघे सङ्क्रान्ति, जानौं तिलको लड्डु र खिचडी खानुका फाइदाबारे


आज माघे सङ्क्रान्ति पर्व, विभिन्न समुदायले आ-आफ्नो परम्परा अनुसार मनाइरहेका छन् । आजको दिन अर्थात् तिलको लड्डु, खिचडी, चाकु, तरुल लगायत खाने गरिन्छ । माघे सङ्क्रान्तिमा तिलको लड्डु, गुड, खिचडी, कन्दमुल लगायत खानुले हाम्रो स्वास्थ्यलाई पनि लाभ हुन्छ ।

माघे सङ्क्रान्तिमा तिल र गुड किन खाने गरिन्छ यसको पछाडी वैज्ञानिक कारण छ । सामान्यतया चिसो मौसममा शरीरलाई तातोको आवश्यकता पर्छ । यस्तो तातोपन उपलब्ध गराउन तिल र गुडले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किनकी तिलमा तेलको मात्रा धेरै हुन्छ । जसको सेवनले शरीरमा आवश्यक तेलको मात्रा पुर्ति गर्नुको साथै शरीरमा आवश्यक तातो अर्थात् शक्ति पुर्याउँछ ।

तिलको लड्डुका खानुको फाइदा उच्च रक्तचाप नियन्त्रणमा तिल मद्दतगार मानिन्छ । विभिन्न अनुशन्धानहरूले तिलमा पाइने तेलले उच्च रक्तचाप नियन्त्रण गर्ने पुष्टि गरेका छन् । साथै मुटुको लागि पनि तिल निकै फाइदाजनक मानिन्छ । तिलमा भएको म्याग्निसियमले मधुमेह रोगबाट टाढा राख्छ । तिलमा हुने फाइबरले पाचनक्रियालाई सन्तुलित राख्छ । साथै कब्जियत जस्ता समस्या पनि निर्मूल पार्छ ।

खनिज तत्वले भरिपूर्ण तिल र गुड सेवनले शरीर उर्जावान बनिरहन्छ । यसकारण जाडो मौसममा पार्ने माघे सङ्क्रान्तिमा यी चिजहरू सेवन गरिन्छ ।

तिलमा कोपर, म्यानेशियम, ट्राइयोफान, आइरन, क्याल्सियम, फस्फोरस, जिंक, भिाटामिन बी१ र प्रचुरमात्रामा फाइबर पाइन्छ । चौथाइ कप तिलमा २०६ क्यालोरी शक्ति हुन्छ । तिलमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । जसले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्छ ।

त्यस्तै माघे सङ्क्रान्तिमा खाइने खिचडी पनि मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । खिचडी चामल, विभिन्न प्रकारका दाल, हरियो तरकारी लगायतका सामग्री राखेर पकाइन्छ । जसले शरीरमा तुरुन्त उर्जा प्रदान गर्छ ।

यस्तै सख्खरबाट बनाइने चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ । चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ ।

चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुन्छ । बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनु पर्छ । बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने हुँदा जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनु राम्रो मानिन्छ ।

त्यतिमात्र नभई चाकुको सेवनले पाचन प्रणाली पनि बलियो हुने हुँदा जाडो मौसममा चाकु खाँदा खाना अपच हुने समस्याबाट राहत हुन्छ । शरीरमा उर्जा र शक्ति प्रदान गर्ने काम चाकुले गर्ने हुँदा जाडो मौसममा नियमित चाकु सेवन गर्नुपर्ने भएकिले विशेषगरी वृद्धवृद्धालाई चिसोबाट जोगाउन चाकु खान दिनुपर्छ ।

त्यसैगरी तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवद्र्धक खाने कुराको रूपमा लिइन्छ । अन्य मौसमको तुलनामा जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिने हुँदा तरुलको सेवनबाट पूरा हुन्छ ।

तरुल रेसादार खानेकुरा भएकाले पनि हाम्रो शरीरमा कब्जियतको समस्या कम गर्न सहयोग गर्छ । तरुलमा मानव शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरू म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ ।

तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै फाइदा गर्छ । साथै तरुलमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन सी, ई तथा बी क्यारोटिनले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ ।

क्यान्सरको कारक तत्वको रूपमा रहेका फ्री रेडिकल्ससँग लड्ने काम पनि तरुलले गर्छ । चिसो आहारको रूपमा रहेको तरुल मधुमेह भएका बिरामीहरूले भने नखानु नै उचित हुन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com