स्वास्थ्यका निकाय अख्तियारको निगरानीमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यका निकायलाई उच्च निगरानीमा राख्न थालेको छ ।

आयोगले स्वास्थ्यका क्षेत्रलाई अनियमितता हुने क्षेत्रको प्राथमिकतामा राखेर उच्च निगरानीमा राख्न थालेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार मुद्दा लगाएको अख्तियारले अन्य प्रतिष्ठान र स्वास्थ्यका निकायलाई उच्च निगरानीमा राखेको हो । नपाएको पद प्राध्यापक पाए भनेर लेख्ने गिरीमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेर यसको थालनी समेत गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतका अनुसार स्वास्थ्य क्षेत्र भ्रष्टाचार हुने मुख्य क्षेत्रमा राखेर उच्च निगरानीमा राखेको हो । अख्तियारका प्रवक्ता श्याम भण्डारी भ्रष्टाचार तथा अनियमितताका धेरै उजुरी पर्ने क्षेत्र अख्तियारको निगरानीमा पर्नु स्वभाविक रहेको बताउँछन् । वीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि मुद्दा चलाउनुलाई उनले त्यसैका रुपमा अर्थ्याएका छन् ।

स्वास्थ्य मन्त्रालय कब्जा गरेर बसेको एनएच एसएचएसएसपी नामको संस्थाको विषयमा अख्तियारले पटकपटक स्वास्थ्यलाई जानकारी माग्दा स्वास्थ्य मन्त्रालय गैर जिम्मेवार बन्दै आएको छ । यो विषयमा समेत अख्तियार गम्भीर बनेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा. संगिता भण्डारी सबैभन्दा बढी उजुरी परेको अख्तियार स्रोतले बतायो । उनीमाथि गम्भीर प्रकृतिका उजुरी समेत परेका छन् ।  अख्तियारले ती उजुरीलाई पनि प्राथमिकतामा राखेर हेर्ने तयारी थालेको जनाएको छ । आधारभूत अस्पतालमा बजेट निकासा गर्दा समेत स्वास्थ्य मन्त्रालयका कर्मचारीले घुस माग्ने गरेको उजुरी पनि अख्तियारमा परेको छ । अब अख्तियारले ती उजुरीलाई कसरी अगाडि बढाउँछ हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com