स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: मन्त्री गिरी


पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दैै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् ।

कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘ म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु ।’

उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे ।

‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ । हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं । आगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहदैंन,’ मन्त्री गिरीले भने, ‘फेरि स्वास्थय मन्त्रीले आफ्नो जिल्लाको मात्रै हेर्यो भन्ने पर्ला । तर त्यस्तो होइन । ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेछौं । गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्नेछौं ।’

प्रजातन्त्र प्राप्तिपछि मुलुकले पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो क्याबिनेट मन्त्री पाएको भन्दै उनले आफुलाई भोट हाल्ने सबै जनतालाई धन्यवाद् दिए ।

‘६०/७० वर्षको अवधिमा पर्वतन जिल्लाले कुनै मन्त्री पाएको रहेनछ । हामी कति अभागी रहेछौं, वर्षौं भोट हाल्यौ । तर, मन्त्री कोही बनेन । आज एउटा इतिहास बनेको छ , म सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो पदम गिरीमात्रै होइन, हामी सबै पर्वतवासी मन्त्री भएका हौं,’ उनले भने,‘म अब काम गर्नुपर्ने ठाउँमा छु । कसैप्रति आलोचना गर्ने ठाउँमा छैन । अफ्टेरा छन्, चुनौती छन् । तर, यी चुनौती र अफ्टेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ । इतिहासले बारम्बार अवसर दिदैंन, थोरै समय अवसर दिन्छ । काम गरेर देखाउन सकियो भने इतिहासमा दर्ज हुन्छ, नत्र यस्ता मन्त्री धेरै आए, गए । इतिहासमै सिमित भए ।’

अर्थतन्त्र सुधार्नुपर्ने अभिभारा
स्वास्थ्यमन्त्री गिरीले सङ्कटमा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने अभिभारा अहिलेको सरकारसँग रहेको बताए । ‘आज देशको अर्थतन्त्र सङ्कटमा छ । एकजनाले दिउँसै आफ्नो शरीरमा आगो लगाएर मृत्युवरण गरेको प्रसङ्गले आज देशभर सनसनी मच्चिएको छ । आत्महत्यालाई राम्रो मान्न सकिदैंन । तर पनि अर्थतन्त्र कति जर्जर भएको छ भन्ने सोचनिय कुरा हो । आज बैङ्कमा गयो, बैङ्कले लगानी गर्दैन, तरलताको अभाव छ, ७ प्रतिशतमा लिएको ऋण १४ –१६ प्रतिशतसम्म बढेको छ । बैङ्कले पैसा नदिएपछि, समयमा ब्याज तिर्न नसकेपछि मिटरब्याजीसँग पैसा लिएर कारोबार गर्नुपरेको छ । अनि व्यवसायीहरू दिनदिनै धरासायी, हतोत्साही हुने परिस्थिती एकातर्फ छ । हाम्रो आयात दिनदिनै बढेको छ, हाम्रो उत्पादन छैन,’ उनले भने,‘विकास खर्च हेर्नुहुन्छ भने आज ७ महिना भयो यो बजेट भएको छ । ७ महिनामा केवल १४–१५ प्रतिशत खर्च भएको छ । विकास आयोजनाका कामहरू अघि बढ्दैनन् । जब गाउँ गाउँमा बजेट आउँदैन, तब पैसाको फ्लो कसरी हुन्छ । अर्थतन्त्र कसरी गतिशिल हुन्छ । हुने संभावना नै छैन । जसले गर्दा विकासका क्षेत्रहरुमात्रै होइन, व्यापार –उद्यमका सबै क्षेत्र चौपट हुँदैछन् । यो यथार्थलाई सुधार्नुको विकल्प छैन ।’

उनले थपे,‘अहिले एउटा कम्तिमा खुसीको कुरा छ । शेयर बजारमा हरियाली छाएको छ भन्दा म केही आशावादी भएको छु । अहिले बनेको सरकार कसैलाई गाली गरेर , कसैको विरोध गरेर खर्चने समय होइन । अब भीरबाट खस्न लागेका व्यवसायीलाई आड दिएर माथि तान्नुपर्ने छ । आज सुनको अण्डा दिने हाँसजस्ता व्यापारीहरु निराश भएर बसेका छन् , उद्यमीहरूको मनोबल गिर्यो भने कहाँबाट अर्थतन्त्र गतिशिल हुन्छ, कहाँबाट चलायमान हुन्छ । कहाँबाट विकासको संभावनाहरु अगाडि आउन सक्छन् । यस्तो खालको जटिल परिस्थितीमा हामी भएको बेला अब सरकारले यो सङ्कटबाट देशलाई मुक्त गर्दै विकास र समृद्धिको बाटोमा देशलाई अगाडि लिएर जान्छ । अर्थतन्त्र बलियो बनाएर जानुपर्ने दायित्व यो सरकारसँग छ ।’

क्याटेगोरी : प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ