वीपीका निलम्बित उपकुलपति डा. गिरीले १५ करोडको कमसल उपकरण किनेको खुलासा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १५ करोड बढीको कमसल उपकरण खरिद गरेको खुलासा भएको छ । वीपीमा ठेकदारसँगको मिलेमतोमा कमसल उपकरण किन्दा प्रयोगबिहीन हुन पुगेको पाइएको हो ।

प्राध्यापकको नक्कली उपाधि लेखेर किर्तेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएका गिरी र अस्पताल निर्देशक डा. जगत नारायणको मिलेमतोमा १५ करोड बढीका कमसल उपकरण किन्दा प्रयोगमा आउन सकेको छैन ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार निलम्बित उपकुलपति डा. गिरीको मिलेमतोमा १५ करोड १ लाख ९९ हजारका कमसल उपकरण तया मेसिनरी खरिद गरेको देखिन्छ ।

४ करोड बढीको एमआरआई मेसिन (०.३) टेस्ला, ५ करोड बढीको सिटी स्क्यान, एक्से मेसिन, मोबाइल सि र्‍याम एक्से मेसिन एक/एक थान गुणस्तरहीन भएकाले प्रयोगमा आउन नसकेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । २३ प्रकारका कमसल उपकरण अलपत्र अवस्थामा रहेको महालेखाले खुलाएको छ ।

वीपी प्रतिष्ठानले पोर्टबल एक्स रे मेसिन २ थान, ८०० एमए एक्स रे मेसिन १ थान, कलर डप्पलर सिमेन १ थान, अल्ट्रा साउण्ड मेसिन १ थान र आईसीयू भेन्टिलेटर ६ थान प्रयोग गर्न नमिल्ने कमसल खरिद गरेको पाइएको हो ।

 

स्वास्थ्य लाइभले फेला पारेको विवरणमा वीपी प्रतिष्ठानले खरिद गरेको १ थान सीसीयू भेन्टिलेटर, आईसीयू भेन्टिलेटर झागर १ थान, टिएमटी मेसिन १ थान प्रयोगबिहीन अवस्थामा रहेको छ ।

त्यस्तै डेढ करोड बढीको भिडिओ इन्डोस्कोपी १ थान, हिटर कुलर १ थान, सर्जिकल माइक्रोस्कोप १ थान र विस्क्यान अल्ट्रासाउन्ड १ थान कमसल पर्दा उपयोग हुन सकेको छैन ।

त्यसैगरी वीपी प्रतिष्ठानले फेटल मोनिटर, सिल्ट ल्याम्प, ओसिटी जस्ता उपकरण पनि कमसल खरिद गर्दा प्रयोग हुन नसकेको पाइन्छ ।

वीपीका निलम्बित उपकुलपति डा. गिरीसँगको मिलेमतोमा सम्झौताविपरीत आपूर्तिकर्ताहरुले गुणस्तरहीन उपकरण दिँदा सेवा प्रवाहमा समेत समस्या देखिएको छ ।

गुणस्तरहीन मेसिन खरिद गर्ने वीपीका पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्न आवश्यक रहेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१), (ञ)मा मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने, गराउनेलाई तीन महिनादेखि ३ वर्षसम्म कैद र बिगो खुलेकोमा बिगो बमोजिम जरिवान गरी बिगो उसूल उपर गरिने छ भन्ने उल्लेख छ । वीपी प्रतिष्ठानले खरिद गरेका गुणस्तरहीन यी उपकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को उक्त दफा आर्कषित हुने प्रस्ट देखिन्छ । त्यस्तै गुणस्तरहीन उपकरण आपूर्ति गर्ने आपूर्तिकर्ताहरूमाथि समेत कारबाही गर्न जरुरी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #कमसल उपकरण, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com