आशालाई निराशामा बदलेर बाहिरिन् स्वास्थ्य राज्यमन्त्री डा. कार्की


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोशिमा कार्की आशालाई निराशमा बदलेर बाहिरिएकी छिन् ।

विवाद नै विवादकाबीच राज्यमन्त्री डा. कार्की २० दिनमै स्वास्थ्य मन्त्रालयबाट बाहिरिएकी हुन् । माघ ३ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदभार सम्हालेदेखि नै विवादमा तानिएकी उनी जुन कार्यक्रममा गयो त्यसैमा आलोचनाको शिकार बनिन् ।

स्वास्थ्य राज्यमन्त्रीको पदभार ग्रहण गर्न जाँदा स्टेथोस्कोप भिरेर डा. कार्की स्वास्थ्य मन्त्रालय पुगेकी थिइन् । यो विषयमा टिप्पणी गर्दै खानेपानीमन्त्रीले धारा बोकेर र नागरिक उड्डयन मन्त्रीले जहाज लिएर पदभार ग्रहण गर्न जाँदा के हुन्छ भनेर समेत लेखे ।  स्वास्थ्यमन्त्रीलाई स्टेथोस्कोप लगाएर स्वागत गर्ने हो भने आपूर्ति मन्त्रीलाई पेट्रोल छर्किने त होला नि ! भन्ने टिप्पणी समेत भयो ।

एमालेबाट स्वास्थ्यमन्त्री बनेका पदम गिरीले हस्ताक्षर गरेको फायलमा आफूले पनि हस्ताक्षर गर्न पाउनु पर्छ भनेर उनले स्वास्थ्यका उच्च अधिकारीहरुलाई अप्ठ्यारोमा पारेकी थिइन् । स्वास्थ्यका कर्मचारीहरुले त्यस्तो गर्न नमिल्ने भनेर सम्झाएपछि उनी पछि हट्न बाध्य भइन् ।

त्यसलगत्तै स्वास्थ्य राज्यमन्त्री डा. कार्कीले वीर अस्पताल नयाँ क्याथ ल्याब सेवा उद्‌घाटन गर्दा रिबन काटेको फोटो भाइरल भयो । उक्त अवसरमा स्वास्थ्यमन्त्री गिरीसँगै राज्यमन्त्री कार्कीले तलको रिबन काटेपछि उनी आलोचित बनिन् ।

नयाँ बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको किर्तिपुर अस्पतालको आईसीयूमा पुगेर भिडिओ बनाएपछि राज्यमन्त्री कार्कीको चिकित्सकहरुले नै विरोध गरे । उनले आईसीयूको प्रोटोकल मिचेर भिडिओ बनाएपछि चौतर्फीरुपमा आलोचना भयो । राज्यमन्त्री कार्कीले समाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो कदमको बचाउ गर्न खाजिन तर उनी थप आलोचित बनिन् ।

स्वास्थ्य राज्यमन्त्री डा. कार्की  हरेक कार्यक्रममा जाँदा विवादमा आउने र हस्तक्षेप गर्न खोजेपछि स्वास्थ्यमन्त्री गिरीले अस्पतालहरूको अनुगमन गरेर राय पेश गर्ने अधिकार प्रत्यायोजन गरिदिए । उनले त्यसमा चित्त बुझाइनन् । मन्त्री गएका हरेक कार्यक्रममा आफ्नो पनि हिस्सा खोजेपछि मन्त्रालयका उच्च अधिकारीहरू राज्यमन्त्री कार्कीप्रति वाक्क बनिसकेका थिए । उनमा अलि बढी नै केटाकेटीपन देखिएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको टिप्पणी छ ।

चिकित्सकबाट स्वास्थ्य राज्यमन्त्री बनेकी कार्कीप्रति स्वास्थ्य क्षेत्रको विकृत्ति र विसंगति सुधार गर्लिन् भन्ने धेरैले आशा राखेका थियो । तर, उनी आशालाई निराशमा बदलेर २० दिनमै स्वास्थ्य मन्त्रालयबाट बाहिरिन । माघ ३ गते सपथ खाएकी स्वास्थ्य राज्यमन्त्री डा. कार्कीले माघ २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर स्वास्थ्य मन्त्रालयबाट बाहिरिएकी छिन् ।

स्वास्थ्य मन्त्रालमा एउटै पार्टीको मन्त्री र राज्यमन्त्री हुँदा समेत उनीहरूबीचको सम्बन्ध सुमधुर हुन सकेको थिएन । एमालेका पदम गिरीले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले डा.  तोशिमालाई राज्यमन्त्री बनाएर पठायो । यो नै ठूलो गल्ति थियो । स्वास्थ्य मन्त्रालयमा  फरक दलका मन्त्री र राज्यमन्त्री १ महिना पनि टिक्न सकेन ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. तोशिमा कार्की स्वास्थ्य राज्यमन्त्री, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राजीनामा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री पदम गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com