वीपी प्रतिष्ठानले सरकारलाई झन्डै डेढ करोड फिर्ता नगरेपछि ..


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एकपछि अर्को बदमासी बाहिर आइरहेको छ । वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनले गरेका कर्तुतहरू बाहिर आउन थालेका छन् ।

वीपी प्रतिष्ठानभित्रका बेथितिहरुलाई स्वास्थ्य लाइभले निरन्तर केलाउँदै आएको छ । वीपी प्रतिष्ठानबाट स्वास्थ्य लाइभलाई प्राप्त पछिल्लो विवरण अनुसार प्रतिष्ठानले सरकारलाई फिर्ता गर्नु पर्ने झन्डै डेढ करोड रकम फिर्ता नगरेको पाइन्छ ।

 नेपाल सरकारबाट सशर्त अनुदान बापत प्राप्त रकम खर्च हुन नसकेमा फिर्ता दाखिला गर्न गर्नु पर्नेमा वीपी प्रतिष्ठानले खर्च हुन नसकेको १ करोड ३२ लाख ८० हजार ४२३ रुपैयाँ रकम फिर्ता नगरेको पाइएको हो । वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक जगतनारायणको मिलेमतोमा यस्तो बदमासी भएको प्रतिष्ठानका अधिकारीहरू बताउँछन् ।

सरकारले वीपी प्रतिष्ठानलाई ३ करोड सशर्त अनुदान दिएको थियो । सरकारबाट अनुदानप्राप्त रकममध्ये प्रतिष्ठानले १ करोड ६७ लाख १९ हजार ५१७ रूपैयाँ रकम मात्र खर्च गर्‍यो । खर्च गर्न नसकेर बाँकी रहेको १ करोड ३२ लाख ८० हजार ४२३ रुपैयाँ फिर्ता दाखिला नगरेर वीपी प्रतिष्ठानले बदमासी गरेको तथ्य फेला परेको हो ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को २१(३) मा विनियोजन ऐनमा समावेश भएको कुनै रकमबाट तोकिएको कार्यक्रम सञ्चालन हुन नसकेमा त्यस्तो रकम अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने व्यवस्था छ । तर, वीपी प्रतिष्ठानले खर्च हुन नसकेको १ करोड ३२ लाख ८० हजार ४२३ रुपैयाँ अर्थ मन्त्रालयमा समर्पण गरेको देखिँदैन । वीपी प्रतिष्ठानका पदाधिकारीहरुको मिलेमतोमा उक्त रकम फिर्ता नगरी बदमासी गरेको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयले समेत उक्त रकम फिर्ता गर्नुपर्ने औंल्याएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अस्पताल निर्देशक जगत प्रसाद, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #महालेखा परीक्षकको कार्यालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com