समुन्नत समाज निर्माणको सशक्त सोच


मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ । अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो । खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो । त्यसपछि परिवारको विकास भयो । परिवारको विकासले समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग ग¥यो ।

सम्पन्नता र सहजताको बहारसँगै हाम्रो समाजमा विभिन्न खालका समस्यासमेत विद्यमान छन् । मानव सभ्यताका चार युगमध्ये वर्तमानमा हामी बाँचिरहेको कलियुगमा त्यस्ता समस्या, विलचन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ । यस्ता समस्यामध्येको मुख्य एक समस्यालाई उजागर गर्दै यसको निर्मूलीकरणमा सशक्त विकल्प सुझाउने एउटा पुस्तक निकट भविष्यमा नै हामीमाझ आइपुग्दैछ । अहिले संयुक्त राज्य अमेरिकामा वसोबास गर्नुहुने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साहले लेख्नुभएको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टु इन्ड कलियुग’ आम पाठकलाई एक रोमान्चक र गहन अध्ययन सामग्री हुनेछ ।

समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलनता र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरताको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो । लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ । यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ । यसले नै समाजमा द्वन्द्वको सुरूवात पनि भएको छ । पुस्तकले समाजमा रहेका यस्तै विषय उठानबाट विश्लेषणको आधार बनाएको छ ।

लेखकको अनुसन्धानले समाजमा प्रचलित पेशाको आधारमा निर्धारण गरिएको तत्कालीन पुरानो जातीय प्रथाको आधार यस्तो देखिन्छ ।

लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्घका हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै नै गिजोलेको छ । यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ । यसले समाजलाई झन बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यता नकार्न मिल्दैन । तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन् ।

त्रेतायुगमा रावणलाई ब्राह्मण भए पनि मांसाहारी भएको र मद्यपान गर्ने गरेका कारण राक्षस वर्गमा चित्रण गरियो । अहिले कलियुगमा ९५ प्रतिशत ब्राह्मण परिवारमा समेत मासु र मदिराको नियमित उपभोग हुन्छ । अनि तथाकथित रूपमा तल्लो जात भनि देखाइएका अधिकांश समूहका मानिस भने शाकाहारीमात्र नभई मद्यपान पनि गर्दैनन् तर उनीहरूलाई तल्लो जातको रूपमा नै चित्रण गरिन्छ ।

पछिल्लो सामाजिक परिवेशलाई इंगित गर्दै लेखक भन्छन्– अहिले ९० प्रतिशत ब्राह्मण परिवारले मासु खान्छन् र मदिरासमेत सेवन गर्छन्, ९० प्रतिशत क्षत्रियहरू योद्घाको जागिर वा व्यवसायबाहेक अरू काम गर्छन्, ५० प्रतिशत वैश्यले जागिर वा खेतीपातीलगायत वा बाहेक अन्य काम गर्छन् । ६० प्रतिशत वा सोभन्दा माथिका शूद्र र दलितहरूले आफ्नो जीवनशैलीलाई मध्यमवर्गीय समुदायको रूपमा परिवर्तन गरेका, समुन्नत जीवनशैलीको विकास गरेका छन् तर अझै पनि उनीहरूलाई शूद्र र दलितको रूपमा चित्रण गरिएको छ ।

पेशाका आधारमा प्राचीन जातीय प्रथा निर्माण भएको थियो । आज जीवनयापनमा निर्णायक पक्ष परिवर्तन भए पनि जातीय प्रथा र परिचय केवल उही नै छ । लेखकको अभिरूचि यस्तो छ कि जातीय व्यवस्था समाजबाट हटोस्, यसको प्रभाव र असर निमिट्यान्न होस् । तर केवल यसको विरोध गरेरमात्र यो सम्भव छैन । जातीय प्रथालाई पूर्णतः हटाउन सकिन्न तर पुरानो प्रथालाई विस्थापन गरेर समयसान्र्दभिक नयाँ प्रथा ल्याउन सकिन्छ । जातीय पक्ष केही हदसम्म पहिचानसमेत भएकाले यसमा क्रान्तिकारी तथा आमूल सुधार गरेर यसको प्रभाव घटाउन सकिन्छ । तत्काल जातको अभ्यास पूरै हटाउन सम्भव छैन किनकि सबैको नामसँग उपनाम जोडिएको छ

लेखक सुझाउँछन्– सबै परिवार र आफन्तले चाहे वा अनुमोदन गरेमा मानिसलाई स्वेच्छाले आहारविहार, खानपिन, पेशा र वर्तमानमा अपनाएको जीवनशैलीको आधारमा जात परिवर्तन गर्न भने दिनुपर्छ । जातीय व्यवस्था विगतमा दिइएको परम्परागत तथा पारिवारिक पहिचानमा आधारित नभई वर्तमानमा बाँचिरहेको जीवनशैलीमा आधारित हुनुपर्छ । मानवको जीवन आफूमा स्वतन्त्र भएकाले जातका आधारमा उसको स्तर अथवा अवस्था मूल्यांकन गरिनुहुँदैन । जात केवल नामजस्तै एउटा पहिचानको आधारमात्र बन्नुपर्छ । जसरी मानिसलाई नामका आधारमा भेदभाव नगरिने हुँदा उसले नामलाई लुकाउँदैन र नाम भन्न पनि हिच्किचाउँदैन– त्यसरी नै जात भन्नलाई कसैले हिच्किचाउनु नपरोस् । जातको आधारमा विभेद नभएमा यस्तो अवस्था स्वतस्फूर्त उच्च सहिष्णु समाज बन्ने लेखकको भनाइ छ ।

लेखकको बुझाइमा जातीय अभ्यासका कारण विवाहमा सबैभन्दा बढी असर परेको हुन्छ । हरेकले परिवार र तत्काल परिवारको जीवनस्तर हेर्छन्, जीवनशैलीमा समानता खोज्छन् । शाकाहारी अभिभावकले आफ्नो छोराछोरीले मासु खाने परिवारमा विवाह गरेको मन पराउँदैनन् । मांसाहारी नै भए पनि कोहीकसैले आफ्नो समुदायको भावना र संस्कारअनुसार गाई, सुँगुर अथवा अन्य पशुको मांससेवन मन पराउँदैनन् । यसको निराकरण गर्न लेखकले जातीय व्यवस्थाको विशुद्घ नयाँ खालको पुनंसरचनाको खाका दिन खोजेका छन् ।

लेखकबाट प्रस्तावित नयाँ जातीय अभ्यासको स्वरूप यस्तो हुनेछ । समाजमा एकरूपता र नयाँ प्रचलनअनुसारका व्यवस्था कायम गर्न लेखकले हरेक व्यक्तिको पहिचान र सप्mटवेयर युक्त ट्रयाकिङ प्रणालीबाट अनुगमन र सर्वेक्षण गरिने नयाँ प्रविधिको नमुना प्रस्तुत गरेका छन् । तसर्थ कसैले कसैलाई झुक्याउन र आफ्नो पहिचान लुकाउनुपर्दैन ।

मानिसलाई जात बोझको रूपमा नभई छनौटको रूपमा प्राप्त हुन्छ । हरेकले स्वेच्छाले आफ्नो जात स्वयंले निर्धारण गर्न सक्छन् । तसर्थ जातको आधारमा भेदभाव बाँकी रहँदैन । लेखक भन्छन्– पछिल्लो तीनदेखि चार हजारभन्दा बढी वर्ष हाम्रो समाजमा जाति, लिंग, धन, धर्म, जातीयता र भाषामा कुनै सामाजिक सुधार तथा तात्विक हिसाबको सकारात्मक परिवर्तन नभएकाले अब यस्तो एउटा नयाँ अभियानको सुरूवात गर्नुपर्छ । नगदविहीन समाज, दाइजोको उन्मूलन र सुनमा सम्पन्नता देख्ने आदतको अवसानलगायतका सुधार अनुसरण गरिने एक योजनाबद्घ कार्यकम सुनिश्चित गर्दा अर्को पाँच या छ हजार वर्षको लागि कुनै सुधार आवश्यक पर्दैन भन्ने उनको तर्क छ । उनले पुस्तकमार्फत यसैको खाका पस्किएका छन् ।

यस्तो जातीय विभेदभन्दा अघि समाजमा रामराज्य थियो, सबै समान शक्तिशाली र सम्मानित थिए । पैसाको उद्भवले विभेद र कलियुगको सुरूवात भयो । लेखकले पैसाविहीन समाजको कल्पना गरेका कारण सामाजिक भेदभाव पनि अन्त्य हुने दावी उनको छ । जसरी कार्ल माक्र्सले ‘कम्युनिस्ट मेनिफेस्टो’ लेखेर वर्गविभेदको उपायको शंखघोष गरेका थिए– त्यसैगरी लेखक साहले ‘कल्किस्ट मेनिफेस्टो’बाट जातीय अभ्यासका बेथितिविरुद्घ यसको समूल नष्ट गर्ने मार्गचित्र प्रस्तुत गरेका छन् ।

लेखक भन्छन्– कल्किवादको उदयले पैसाविहीन समाज निर्माण गर्ने, मलेच्छलाई हटाउने र कलियुग अन्त्य गर्ने कुरामा ठोस पहल गर्नेछ । रामलाई रामसेना र कृष्णलाई नारायणीसेना आवश्यक भएजस्तै कल्किलाई पनि कलियुग अन्त्य गर्न कल्किसेनाको आवश्यकता पर्दछ भन्ने उनको तर्क छ । भारतले चार हजार वर्षपहिले जातप्रथाको प्रचलन ल्याएर समाजलाई द्वन्द्वमा धकेल्यो । के नेपालले यस्तो प्रथा हटाएर नयाँ समयसान्र्दभिक व्यवस्था ल्याएर विश्वगुरु बन्न सक्छ त ? यसको विस्तृत र सम्पूर्ण प्रस्तावित प्रणालीबारे बुझ्न भने उनको आगामी पुस्तकलाई अध्ययन गर्नुपर्ने हुन्छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ