विपद् व्यवस्थापनको जोखिमपूर्ण कार्यमा खटिनेहरूको बीमा गर्न सुशासन समितिको निर्देशन


काठमाडौं। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विपद् व्यवस्थापनको जोखिमपूर्ण कार्यमा खटिनेहरूको बीमा गर्न सरकारलाई निर्देशन दिएको छ। हरि ढकाल नेतृत्वको उक्त समितिले विपद् व्यवस्थापनको जोखिमपूर्ण कार्यमा खटिने सुरक्षाकर्मीलगायतका विभिन्न जिम्मेवारीमा खटिने कर्मचारीको जोखिम बहन गर्न बीमाको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले विपद्सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारीलगायतका समग्र विपद् व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्नका साथै तीनवटै तहकाबीचमा उचित समन्वय एवं स्पष्ट कार्यविभाजन गरी लागू गर्न तथा स्थानीय तहलाई नीतिगत मार्गदर्शनको सुनिश्चितता गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिले सुकुम्बासीका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयलाई ४ वटा निर्देशन दिएको छ।

समितिले दिएको पहिलो निर्देशनमा होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूको पठन-पाठनलाई तत्काल सुचारू गर्ने र कार्य प्रगति विवरण जेठ १५ गतेभित्र जानकारी दिने रहेको छ। दोस्रोमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चित गर्ने र कार्य प्रगति बारे समितिलाई दिने सरकारलाई निर्देशन दिएको हो।

होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा आबद्ध सुकुम्बासीहरूलाई निजको आ-आफ्नो रोजगारी निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाइ समितिलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ। समितिले दिएको चौथो निर्णयमा विभिन्न होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीहरूको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई जेठ १५ गतेभित्र जानकारी गराउन भनिएको छ। विपद् र सुकुम्बासी व्यवस्थापनका लागि संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सक्रिय भएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ