स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रको गुणस्तरीय जनशक्तिका लागि बहस गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री गिरीले परिषदको कार्यक्रममा सहभागि भएर स्वास्थ्य क्षेत्रका चुनौतीबारे बुझ्न सहज भएको बताए ।

उनले स्वास्थ्य क्षेत्र प्राविधिक क्षेत्र भएकाले यसमा गर्नुपर्ने परिमार्जन, सुधारका लागि आफू तयार रहेको र सम्बन्धित निकायलाई के गर्दा नेपालको स्वास्थ्य क्षेत्र उत्कृष्ट बन्न सक्छ त्यसका लागि मिलेर अघि बढ्न पनि आग्रह गरे ।

उनले स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्नका लागि कुन नियम, कानून वा ऐन परिमार्जन गरेर सहज हुन्छ त्यसलाई छलफल र बहस गरेर अघि बढ्न आफू तयार रहेको तर, भएका ऐन नियम मान्दिन भनेर कसैले भन्न नमिल्ने पनि उल्लेख गरे ।

मन्त्री गिरीले नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको जिम्मेवारी अनुसार परिषदले गरेको काम सराहनीय रहेको भन्दै यसले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता कायम गर्ने विश्वास व्यक्त गरे ।

उनले स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षाका लागि ठूलो सङ्ख्यामा विद्यार्थीहरू बाहिर गइरहेको र त्योसँगै नेपालको ठूलो धनराशीपनि बाहिरिनु चिन्ताको विषय बनेको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com