भारतीय दूतावासको कार्यक्रममा स्वास्थ्यको जम्बो टोली, व्यवस्थापन महाशाखाको अत्तोपत्तो छैन


काठमाडौं ।  भारतीय दूतावासले नेपाल सरकारलाई २ सय थान मिर्गौला डायलाइसिस मेसिन दिने घोषणा गर्‍यो । दूतावासले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयको जम्बो टोली पुगेको थियो । अहिले भारतले नेपाल सरकारलाई २० थान डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ ।

भारतले नेपाल सरकारलाई २० थान डायलाइसिस मेसिन हस्तान्तरण गर्दा त्यो हेर्ने व्यवस्थापन महाशाखाका कुनै प्रतिनिधिलाई सहभागी गराइएन । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, स्वास्थ्यका सचिवद्वय डा. रोशन पोखरेल, देवकुमारी गुरागाईंलगायतका उच्च अधिकारी देखिन्छन् । तर, व्यवस्थापन महाशाखाका प्रतिनिधिहरुको अत्तोपत्तो छैन ।

जसले उक्त डायलाइसिस मेसिन भण्डारण र वितरण गर्छ उसैकाे सहभागिता नभएपछि स्वास्थ्यका उच्च अधिकारीहरुको आलोचना हुन थालेको छ । ‘याे मिगौला डायलाइसिस मेसिन मन्त्री सचिवले घर लैजाने हाे र ? नत्र सम्बन्धित महाशाखाका प्रतिनिधिको उपस्थिति हुनु पर्दैन ?’, स्वास्थ्यका एक अधिकारीले प्रश्न गरे । मन्त्रीको सचिवालयका व्यक्ति उपस्थित हुँदा व्यवस्थापन महाशाखाका प्रतिनिधि नहुनु अति भएको ती अधिकारीको टिप्पणी रहेको छ ।

स्वास्थ्य मन्त्रालयको यो शैलीलाई लिएर धेरैले नकारात्मक प्रतिक्रिया दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com