डाक्टरको चुनाव गर्दिने वकीलले आफ्नो चुनाव गरेन


काठमाडौं । डाक्टरको चुनाव गर्दिने वकीलले आफ्नो चुनाव भने नगरेको पाइएको छ ।

नेपाल चिकित्सक संघ, प्रजातान्त्रिक चिकित्सक संघजस्ता डाक्टरको संगठनको चुनाव गराउने वकीलको भने चुनाव नभएको पाइएको हो । आफूलाई प्रजातान्त्रिक ठान्ने वकीलहरूको संगठन नै सबैभन्दा अप्रजातान्त्रिक देखिएको छ ।

प्रजातन्त्रको मूल खम्बा भनेको आवधिक निर्वाचन हो । तर, नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए)को कार्यकाल सकिएको झन्डै २ वर्ष हुन लाग्दासम्म निर्वाचन हुन सकेको छैन ।

२०७५ साल साउनमा ३ वर्ष कार्यकालका लागि योगेन्द्र बहादुर अधिकारी नेतृत्वमा डीएलएको नयाँ कार्यसमिति चयन भएको थियो । उक्त कार्यसमितिले २०७८ साउनमा नै नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो तर २०७९ फागुनसम्म चुनाव हुने निश्चित छैन । डीएलएले निर्वाचनको मिति तोक्दै रोक्दै गरेको छ । कहिले राष्ट्रपतिको चुनाव त कहिले के बहाना देखाएर संगठनलाई नै अप्रजातान्त्रिक बनाएको छ ।

कार्यकाल सकिएकी डीएलएकी महासचिव लक्ष्मीदेवी रावल पदमै रहेर अध्यक्षमा दावी गर्दै आएकी छिन् । पदमा बसेर रावलले पार्षदमा चलखेल गर्दा पनि प्रतिस्पर्धीहरू निरीह देखिएका छन् । उनको यो शैली पुरै स्वतन्त्र र निष्पक्ष निर्वाचनको मर्मविपरीत छ ।

गैंडाकोटमा सम्पन्न डीएलएको १० औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित अधिकारी र महासचिव रावल ११ औं अधिवेशनबाट आउने कार्यसमितिको कार्यकाल पनि छाड्न तयार नरहेको पाइन्छ । उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका थिए ।

यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका थिए । उनीहरू पनि संगठनलाई अप्रजातान्त्रिक बन्नबाट जोगाउन लागेको पाइँदैन ।

२ कार्यकाल नै बित्न लागेपछि प्रजातान्त्रिक वकीलहरूको अप्रजातान्त्रिक संगठन भनेर टिप्पणी हुन थालेको छ । यसमा अध्यक्ष अधिकारी र महासचिव रावलको विशेष भूमिका रहेको चर्चा प्रजातान्त्रिक वकीलहरूको वृत्तमा सुनिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com