१४ थान डायलाइसिस मेसिन भए सिभिलले उत्कृष्ट सेवा दिने


काठमाडौं । १४ थान डायलाइसिस मेसिन भए सिभिल अस्पतालले मिर्गौला पीडितलाई उत्कृष्ट सेवा दिने तयारी थालेको छ । निजामती कर्मचारीलाई सहुलियतमा उपचार गर्दै आएको सिभिल अस्पतालले मिर्गौला पीडितलाई सेवा दिने तयारी थालेको हो ।
निजामती सेवा अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले डायलाइसिस मेसिन उपलब्ध हुन साथ मिर्गौला पीडितलाई डायलाइसिस सेवा दिने तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक पूर्वाधार तयार भइसकेको उनको भनाइ छ । 
मुख्यसचिवको नेतृत्वमा रहेको निजामती सेवा अस्पतालमा डायलाइसिस मेसिन नहुँदा मिर्गौला पीडित कर्मचारीले सहुलियतमा सेवा पाउन सकेका छैनन् । आफैंले सेवा लिनु पर्ने अस्पतालमा आवश्यक उपकरण व्यवस्थापनका लागि मुख्यसचिवले समेत उदासिनता देखाएको पाइन्छ । मुख्यसचिव शंकरदास बैरागी खनालले चाहना राख्ने हो भने तुरुन्तै डायलाइसिस मेसिन उपलब्ध हुने अवस्था छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भारत सरकारले २ सय थान डायलाइसिस मेसिन उपलब्ध गराउने निश्चित भएको छ । २० थान मेसिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । अब आउने १ सय ८० थान डायलाइसिस मेसिनमा १० देखि १४ थान सिभिलले पाउन सक्यो भने मिर्गौला डायलाइसिस सेवा तुरुन्तै सञ्चालन हुने देखिन्छ । यसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, मुख्यसचिव र स्वास्थ्य सचिवको ध्यानाकर्षण हुन जरुरी छ ।
बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर १(१)बाट निर्वाचित प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ सिभिल अस्पतालमा मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराउन लागिपरेका छन् । यसका लागि उनले बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठलाई आग्रह समेत गरेका छन् ।
कोरोनाकालमा सिभिल अस्पताललाई झन्डै २ करोडको मेडिकल सामग्री उपलब्ध गराउन सफल सांसद श्रेष्ठ मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराउन पनि जोडतोडले लागेका हुन् । 
सिभिलमा मिर्गौला डायलाइसिस मेसिन जडान भए निजामती कर्मचारीले मात्र होइन स्थानीयले पनि सहुलियत र सहज रुपमा मिर्गौला डायलाइसिस सेवा पाउने उनको विश्वास छ । 
काठमाडौंको महत्त्वपूर्ण ठाउँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा मिर्गौला डायलाइसिस मेसिन नहुँदा लाखौंको संख्या रहेका कर्मचारी समेत सेबा लिनबाट बञ्चित भएका छन् । यसका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले चासो दिन जरुरी छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com