शरीरलाई स्वस्थ र स्फूर्त राख्न कस्तो बानी अपनाउने ? जानौं


मानिसको शरीर तथा मस्तिष्क स्वस्थ र स्फूर्त राख्न जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ । हामीले बच्चैदेखि अपनाउँदै आएका कतिपय बानीले शरीरलाई हानि पुर्याइरहेको हुन्छ । अन्जानमा गरिने कतिपय क्रियाकलाप तथा परिकार सेवनले स्वास्थ्यलाई असर पुर्याउन सक्छ । शरीरलाई स्वस्थ र सुन्दर बनाइराख्न हामीले जीवनशैलीमा धेरै सुधार गर्नुपर्ने हुन्छ । सुधार गर्नुपर्ने केही बानीबारे कन्सल्टेन्ट आयुर्वेदिविज्ञ डा.सबरी साह यसो भन्छन् :

१) शारीरिक व्यायाम या कडा परिश्रमलगत्तै खाना खाने बानी राम्रो होइन । यसले स्वास्थ्यमा असर पुर्याउन सक्छ । त्यसैले शरीरको सरसफाइ गरिसकेर मात्रै खाना खाने बानी गर्नुपर्छ ।

२) खाना खाँदा जहिले पनि एक–अर्काको विरोधी परिकारबाट जोगिनुपर्छ । जस्तै : दूधसँग माछा खानु हुँदैन । त्यस्तै दही, मही तताएर खानु हुँदैन । कालो दाल र चनाको तरकारी एकैपटक सेवन नगर्ने । चनाको दाल, पापड, परौठा पनि सँगै खाँदा स्वास्थ्यमा हानि हुन सक्छ ।

३) बिहान उठेपछि न्यूनतम एक घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । यसले मानिसको शरीरलाई चलायमान बनाउँछ । जसले गर्दा दिनभर शरीर स्वस्थ र स्फूर्त हुन्छ ।

४) व्यस्त जीवनशैलीमा धेरै मानिस हरेक समय हतारमा हुने गर्छन् । तर, सकेसम्म हरेक दिन मानिसले शारीरिक व्यायाम गरिसकेपछि नुहाउनु राम्रो मानिन्छ ।

५) समयसापेक्ष स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्छ । हल्का मनतातो पानीले शरीर नुहाएको खण्डमा शरीर सुन्दर बन्नुका साथै त्यहाँको फोहोर बाहिर निस्कन्छ ।

६) हामी रातीको समयमा दहीसँग खाना खाने गछौँ । यस्तो भूलेर पनि गर्नु हुँदैन । साँझको समयमा खाना खाएर कम्तीमा पनि दुई सय पाइला हिँड्ने बानी बसाल्नुपर्छ ।

७) धेरैको बानी हुन्छ, रातीमा ढिलो सुत्ने । अहिलेको समयमा ढिलोमा ९ बजे सुतिसक्नुपर्छ । यस्तो बानीले शरीर तथा दिमागलाई पनि स्फूर्त राख्छ ।

८) हामी खानपानमा खासै वास्ता गर्दैनौँ । जे जस्तो पाइन्छ खाएर काममा लाग्ने हाम्रो जीवनशैली नै बनिसकेको छ । आयुर्वेदिक पद्धतीमा खाना राम्ररी पाकेको, ओजनदार नभएका तथा सहज रुपमा पच्ने हुनुपर्छ ।

९) मौसमअनुसार खानेकुराको प्रयोग गर्न पनि जान्नुपर्छ । जाडो समयमा खाएको कुरा चाँडै पच्छ । गर्मीमा अलि ढिलो पच्ने गर्छ । त्यस्तै, खानाको प्रकृतिअनुसार ढिलो गरी पच्ने खानेकुरा छ भने हल्का खानुपर्छ । यदि पच्ने परिकार छ भने केही गाँस बढी खाएपनि स्वास्थ्यमा कुनै असर गर्दैन ।

१०) हामीले बिहान उठ्ने बेलादेखि सुत्ने बेलासम्म गतिविधिलाई धयान दिनुपर्ने हुन्छ । हामी सिरकभित्र बसिरहने, अल्छि गर्ने, दिसा–पिसाब आएको खण्डमा पनि चिसो छ भनेर रोकेर राखिरहने गर्छौँ । यसले मानिसको तल्लो पेट दुख्ने, अण्डकोष दुख्ने, पाद आउनेजस्ता समस्या हुन सक्छ । त्यसैले सूर्य उदाउनुभन्दा अगाडी उठ्ने बानीको विकास गर्नुपर्छ ।

११) धेरै मानिसको बानी हुन्छ, खाना खानेवित्तिकै सुत्ने । खाना खाएपछि केही समय हिँड्नुपर्छ । अर्को मुख्य विषय भनेको खाना खानेबित्तिकै पानी पिउनु हुँदैन । कम्तीमा पनि खाना आएको ३० मिनेटपछि एक–एक गिलास गर्दै पिउनुपर्छ । एकै पटक धेरै पानी पिउनाले पनि शरीरका लागि हानिकारक हुन्छ ।

१२) रातीको खाना सूर्य अस्ताएको दुई घण्टाभित्रमा खानुपर्छ । बिहान र दिउँसोको भन्दा रातीको खाना हलुका भएमा शरीरलाई फाइदा गर्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com