चाहँदाचाहँदै पनि किन बस्दैन गर्भ ?


गर्भ नबस्ने तथा बाँझोपन हुनुमा महिलाकै कमजोरी देखाउने नेपाली समाजको मान्यता अझै कायम छ । यही नाममा कतिपयको घरबार टुटेको छ भने महिलाले ज्यान नै फालेको डरलाग्दो उदाहरण पनि छ । आखिर चाहँदाचाहँदै किन बस्दैनन गर्भ ? स्त्री तथा प्रसुतिरोग विशेषज्ञ प्रा.डा.ज्ञानेन्द्रमानसिंह कार्की भन्छन् :

केही कारण र अवस्था :
► गर्भ नबस्ने समस्या आधुनिक युगमा मात्रै आएको होइन । यो विगतदेखिकै समस्या हो । गर्भ नबस्नुमा महिलामा डिम्ब नबन्नु एउटा कारण हो । यस्तै, पुरुषको शुक्रकिटमा आउने खराबीले पनि गर्भ बस्न सक्दैन । पुरुषको शुक्रकिटमा खराबी र महिलाको डिम्ब नबनेर बाँझोपन हुने समस्याको दर बराबरी छ । सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये २५–३० पैतिशतमा महिलाको डिम्ब नबनेको समस्या देखिने गरेको छ ।

► महिलाको पाठेघरको नली बन्द हुनु पनि गर्भ नबस्ने कारणमध्ये एक हो । पाठेघरको नली बन्द भएर बाँझोपनको समस्या भोग्ने १५ प्रतिशत महिला छन् । ► महिला र पुरुष दुवैमा समस्या देखिएर पनि बाँझोपन हुने गर्छ । यस्तो समस्या बाँझोपन भएकामध्ये ३० प्रतिशत दम्पतीमा देखिएको छ ।

► महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । यसकारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । जसका कारण बाँझोपनको समस्या देखिन जान्छ ।

► महिलाको ट्युबरक्लोसिस, पाठेघर नलीमा इन्फेक्सनजस्ता कारणले पनि गर्भ नबस्न सक्छ ।

► गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा लिनेको संंख्या बढेको पाइन्छ । युवायुवतीबीच हुने असुरक्षित यौनसम्पर्कले यस्तो समस्यालाई बढावा दिइरहेको छ । जुनसुकै कारणले भएपनि धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ र बच्चा नबस्ने खतरा हुन सक्छ । बसेको गर्भ पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । धेरै गर्भपतनले पाठेघरभित्रको आकार–प्रकार पनि विगार्छ र गर्भमा बच्चा बस्यो नै भने पनि पछि पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

गर्मी ठाउँमा नबस्ने
पुरुषको शुक्रकिट निर्माणका लागि अण्डकोषको तापक्रम ३२ देखि ३३ डिग्री हुनुपर्छ । जसले गर्दा धेरै गर्मी भएको स्थानमा बस्नु उत्तम मानिदैँन । पुरुषका कारण बाँझोपनको समस्या निम्तिएको हो भने सो व्यक्तिले चुरोट सेवन छोड्नुपर्छ । लागुऔषधको कुलतबाट टाढैँ बस्नुपर्छ ।

प्रविधिको प्रयोग
बाँझोपनको समस्या भोगिरहेकाहरुले सबैभन्दा पहिले सम्बन्धित चिकित्सककँहा गएर बच्चा नहुनुको कारण पहिल्याउनुपर्छ । श्रीमानको शुक्रकिटमा खराबी छ भने बढाउनतिर लाग्नुपर्छ । यस्तो अवस्थामा शुक्रकिट लिएर कृत्रिम गर्भाधान गर्नुपर्छ ।

शुक्रकिट निकै नै कम छ भने श्रीमानै शुक्रकिट लिएर टेस्ट्युब बेबी जन्माउन सकिन्छ । श्रीमतीको डिम्ब नै नबन्ने समस्या छ भने डिम्ब बन्ने औषधि खान सकिन्छ । तौल धेरै छ भने घटाउनुपर्छ । पाठेघरमा इन्फेक्सन छ भने उपचार गर्नुपर्छ ।

श्रीमान–श्रीमतीमा कुनैपनि समस्या नै देखिएन, तर बच्चा पनि रहन सकेन भने कृत्रिम गर्भाधान नै विकल्प हुन्छ । पाठेघरको नली बन्द छ र अन्य कारणले बच्चा बसेन भने टेस्ट्युव बेबी प्रविधि अपनाउन सकिन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com