कांग्रेसबाट दुई डाक्टरसहित ५ जना नेतृत्व गरेर सरकारमा जाने कसरतमा


काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तारको तयारी भइरहेको छ । अहिले स्वास्थ्यसहितका महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले सम्हालिरहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्वास्थ्यसहितका मन्त्रालय पाउने सम्भावना रहेको छ ।

सरकार पुनर्गठनको तयारी भइरहँदा नेपाली कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय पेचिलो बन्दै गएको छ । सरकारमा जानका लागि कांग्रेसका दुई डाक्टरसहित ५ जना सांसदले तीव्र लबिइङ गरिरहेको कांग्रेस बृत्तमा चर्चा छ ।

कांग्रेस-माओवादीसहितको गठबन्धन बनाउन विशेष भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्का कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने स्वभाविक दाबेदारको रुपमा हेरिएको थियो । तर, उनले अहिले सरकारमा नजाने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा जानेमा पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको व्यापक चर्चा थियो । उनले पनि आज प्रधानमन्त्रीबाहेक अरु पदमा नजाने घोषणा गरे ।

कांग्रेसबाट दुई दाबेदार बाहिरिएपछि अब ५ जनाको दाबेदारी देखिन्छ । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने प्रमुख दाबेदारमा प्रकाशनमान सिंहको नाम आएको छ । प्रकाशमानलाई उपप्रधानमन्त्रीसहित गृह, भौतिक वा शहरी विकासमन्त्री बनाउने कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना छ । पार्टीको १४ औं महाधिवेशन र संसदीय दलमा आफूलाई सहयोग गर्ने रामचन्द्र पौडेललाई देउवाले राष्ट्रपति बनाइसकेका छन् । अब गुन तिर्न बाँकी प्रकाशमान भएकाले देउवाको रोजाइमा उनी परेका हुन् । महाधिवेशनलगत्तै देउवाले प्रकाशमानलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, त्योबेला प्रकाशमानले ठाडै अस्वीकार गरिदिए । अहिले उनी ‘पोजेटिभ’ भएका बेला देउवालाई पार्टीबाट नेतृत्व गरेर सरकारमा पठाउने उपयुक्त अवसर जुरेको छ ।

सरकारमा सहभागी हुने दिन नजिंकिँदै जाँदा बिमलेन्द्र निधिले पनि सरकारमा जान तीव्र लबिइङ थालेका छन् । अघिल्लो प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका निधि फेरि जान खोजेका छन् । आईजीपी नियुक्ति काण्डमा देउवाको रुचीविपरीत तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग टस्सल लिएकाले निधिको सम्भावना न्यून रहेको बताइन्छ ।

डा. शशांक कोइरालाले पनि देउवासँग आफूलाई उपप्रधानमन्त्रीसहित कृषिमन्त्री बनाउन आग्रह गरेका छन् । यो विषयमा देउवाले मुख खोलिसकेका छैनन् । पछिल्लो समय डा. शेखर कोइरालाको पनि कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने चर्चा छ । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्र वा रक्षामन्त्री बन्ने इच्छा देखाएको देउवा निकट स्रोतको दाबी छ ।

यता देउवा पत्नी आरजु राणा देउवाले पनि कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने इच्छा प्रकट गरेको चर्चा छ । उनलाई उपप्रधानमन्त्री नबनाएपनि परराष्ट्रमन्त्री बनाउने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।

दौडधुप हेर्दा कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान २ डाक्टरसहित ५ जनाको तीव्र प्रतिस्पर्धा देखिन्छ । तर, प्रकाशमानले बाजी मार्ने सम्भावना उच्च रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. आरजु राणा देउवा, #डा. शशांक कोइराला, #डा. शेखर कोइराला, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #प्रकाशमान सिंह, #विमलेन्द्र निधि

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com