बानेश्वर थापागाउँको पर्ती जग्गा कसरी पुग्यो डा. उप्रेतीको नाममा ?


काठमाडौं । बानेश्वर थापागाउँको करिब २५ करोड रुपैयाँ पर्ने १ रोपनी पर्ती जग्गा डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा पुगेको पाइएको छ । पाटनका कुल नरसिंह शाक्यले ‘नून छरेर’ छोडेको पर्ती जग्गा डा. उप्रेती दाजुभाईको नाममा पुगेको पाइएपछि स्थानीयहरू आश्चर्यमा परेका छन् ।
बाजेले धेरै सन्तान हुन् भनेर नून छरेर छोडेको जग्गा व्यक्तिको नाममा पुगेको सुन्दा कुल नरसिंहका नाति त्रिलोक समेत आश्चर्यमा परे । डा. उप्रेती दाजुभाईले पर्ती जग्गा ‘किर्ते’ गरेर दर्ता गरेको तथ्य फेला पारेपछि स्वास्थ्य लाइभको टोलीले निरन्तर खोजिरहेको छ ।


पाठशाला स्कुलले डा. उप्रेती परिवारसँग उक्त जग्गा भाडामा लिएर पार्किङ गर्न थालेपछि स्थानीय समेत उक्त जग्गा संरक्षण गर्न जुर्मुराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत डा. प्रेमरमण र दीपकरमणको नाममा दर्ता भएको पर्ती जग्गाको विषयमा छानबिन गरिरहेको छ । किर्ते गरेर पर्ती जग्गा डा. उप्रेती दाजुभाईको नाममा दर्ता भएको भन्दै स्थानीयले अख्तियार गुहारेका हुन् । उनीहरूमाथि किर्तेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बानेश्वर थापागाउँका स्थानीयको माग छ ।


तत्कालीन महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ७९ को को करिब २ रोपनी जग्गा पाटनका व्यापारी कुल नरसिंहले नून छरेर छाडेपछि पर्ती भनेर दर्ता भयो । ७ नम्बर पर्ती (सरकारी) उल्लेख भएको जग्गा मालपोतका कर्मचारी र उप्रेती परिवारको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको पाइएपछि स्थानीयले चासो देखाएका हुन् ।

पुस्तोदेखि १-१ जना छोरा भएपछि उक्त जग्गामा बाजेले नून छरेर छाडेको नाति त्रिलोकले स्वास्थ्य लाइभलाई सुनाए ।
स्थानीयहरूले लामोसमयदेखि उक्त जग्गालाई सार्वजनिक /सरकारी रूपमा भोगचलन गर्दै आएका थिए । निर्वाचनमा समेत थापागाउँको उक्त पर्ती जग्गा प्रयोग हुँदै आएको थियो । टोलबासीले पानी खाने साझा ट्युबेल धारा समेत उक्त ठाउँमा रहेको थियो । तर, पाठशाला स्कुलले एक्कासी पार्किङ बनाउन टिनले घेरेपछि स्थानीयहरू झस्किए । पाठशाला स्कुल सार्वजनिक सम्पत्ति दुषित दर्ता गर्नेसँग मिलेपछि स्थानीयहरू स्कुल व्यवस्थापनसँग रुष्ट बनेका छन् ।


डा. उप्रेती परिवारसँग पाठशाला स्कुलले मिलेमतो गरेर पर्ती जग्गा घेरेपछि स्थानीयसँगै स्वास्थ्य लाइभको टोली वास्तविकता खोज्न लागि पर्‍यो । बुझ्दै जाँदा उक्त जग्गा डा. प्रमरमण अप्रेती र दीपकरमण उप्रेतीको नाममा दर्ता भएको पाइयो ।
थापागाउँमा रहेको २ रोपनी जति पर्ती जग्गा धेरै जसो बाटो विस्तारमा परेको थियो । बाँकी रहेको १५ आना जग्गा पनि उप्रेती दाजुभाईको नाममा पुगेपछि स्थानीयहरू स्वास्थ्य लाइभको टोलीसँगै खोजीमा लागेका छन् । यो जग्गा किन्न पाठशाला स्कुलका संचालकहरू लागिपरेको स्थानीयको दाबी छ ।
अख्तियारले मालपोत कार्यालय डिल्लीबजारसँग उक्त जग्गाको विवरण माग्दा सरकारी प्रकृतिको हुन सक्ने र फिल्डबुक अप्रमाणित रहेको जवाफ दिएको देखिन्छ । फिल्डबुक अप्रमाणित रहेको जग्गाको व्यक्तिको नाममा लालपूर्जा बन्नु नै बदमासी गरेको प्रस्ट हुन्छ ।


डा. प्रेमरमण र दीपकरमणले मातपोतमा दिएको निवेदनमा महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ११६ को जग्गाको नामसारी गरी धनी पूर्जा माग गरिएको छ । त्यसैमा पर्ती जग्गा समेत घुसाएर निवेदन मार्फत दर्ता गरिएको रहस्य फेला परेको छ । मालपोतमा हेर्दा प्रेमरमणले आफ्नो नामको जग्गा आफ्नै नाममा नामसारी गरी धनी पूर्जा मागेको देखिन्छ । यसले त्यहाँ मिलेमतोमा पर्ती जग्गा दर्ता गराइएको सजिलै अनुमान लगाउन सकिन्छ ।

स्वास्थ्य लाइभको टोलीले खोज्दा पर्ती जग्गा आफ्नो नाममा लाने डा. प्रेमरमण ललितपुरको बालकुमारीमा बस्दै आएको खुलेको छ । दीपकरमण भने क्यानडाका नागरिक बनिसकेको स्थानीयको भनाई छ ।
अब अख्तियारले डा. प्रेमरमण उप्रेतीलाई बोलाएर उक्त जग्गाको स्रोत के हो भनेर सोध्नु पर्छ । राजीनामा, बकसपत्र कि छोडपत्र उक्त जग्गा कसरी प्राप्त गर्‍यौँ भनेर अख्तियारले बयान लिन जरुरी छ ।
कुल नरसिंह शाक्यको साविक लगतको जग्गा उनले गौचरणमा छोडिदिएको देखिन्छ । नापी हुँदा पर्ती जनिएको उक्त जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुनु आश्चर्यको विषय भएको स्थानीयहरू बताउँछन् ।

साविक देखिकै पर्ती जग्गामै पर्ती रुपमा रहेको तर एक्कासी घेराबार लगाएपछि स्थानीय खोजी गर्दा व्यक्ति विशेषको नाममा खुल्न आएको हो । अख्तियारले डा. उप्रेतीसँग उक्त जग्गाको साविकको स्रोत खोज्नु पर्ने स्थानीयहरुको माग छ ।

फिल्डबुकको ब्यहोरामा कुनै निलोमसीले कुनै कालोमसीले लेखिएको पाइएकाले यो पछि थपेको हो भन्ने प्रस्ट हुन्छ ।
पर्तीलाई किर्ते गरेर प्रर्ती बनाइएकाले यो विषयमा छानबिन गर्न अख्तियारले सीआईबीमा लेखी पठाउन जरुरी छ ।

वडा सदस्यको सही आवश्यक नै नपर्ने ठाउँमा रहेको पाइएको छ । वडा सदस्य सुभद्राको उक्त सही गलत ठाउँमा रहेको र नक्कली भएको स्थानीयको दाबी छ । अख्तियारले नापी विभाग मिनभवनमा रहेको अभिलेख (माइक्रोफिल्म)मा उक्त कित्ताको फिल्डबुक मागेर हेर्दा किर्ते गरेर दर्ता गराइएको पर्ती जग्गाको पटाक्षेप हुने स्थानीयहरू बताउँछन् । उक्त जग्गा अख्तियारले चाँडै पर्ती नै कायम गराउन पहल गर्नु पर्नेमा थापागाउँका स्थानीयहरू एकमत छन् । पर्ती जग्गाको खोजीमा स्थानीयहरू जुर्मुराएको अवस्थामा अख्तियारले विशेष चासो दिए सरकारी जग्गा संरक्षण हुने उनीहरूको विश्वास छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #किर्ते', #डा. प्रेमरमण, #दीपकरमण उप्रेती, #नयाँ बानेश्वर थापागाउँ, #पर्ती जग्गा, #मालपोत कार्यालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com