मिनभवनमा आकाशे पुल नहुँदा मान्छे मरेको मरै, प्रदेश सांसद श्रेष्ठ सिंहदरबार धाएको धाइ


काठमाडौं । राजधानीको मुटु बानेश्वरको मिनभवन क्षेत्रमा आकाशे पुल नहुँदा ४० जना बढीले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्रमा जेब्रा क्रसिङबाट बाटो काट्दा ४० बढीले ज्यान गुमाइसकेका छन् । गाडीको ठक्करबाट दर्जनौं अंगभंग भएको पाइन्छ ।

केहीहप्ता अगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा एकजना बालकको ज्यान गएपछि बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ संघीय मन्त्रालयको विभिन्न निकायमा धाएको धाइ छन् ।

प्रयागमार्ग र नापी विभागबीचको जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा धेरै पैदलयात्रीको ज्यान गइसकेको सांसद श्रेष्ठ बताउँछन् । उक्त क्षेत्रमा बाटो काट्ने क्रममा ४० जनाभन्दा बढीको ज्यान गइसकेको उनी तथ्यांक सुनाउँछन् । प्रतिनिधसभा भवन नजिकै आकाशे पुल नहुँदा झन्डै ४ दर्जन मानिसले ज्यान गुमाउनु लाजमर्दो कुरा हो ।

मिनभवनको उक्त क्षेत्रमा आकाशे पुल (ओभर हेड ब्रिज) बनाउन सांसद दिपेन्द्र श्रेष्ठकै पहलमा बागमती प्रदेश सरकारबाट दुईपटक बजेट परिसकेको छ । तर, संघीय सरकारले आफ्नोे क्षेत्राधिकार देखाउँदै काममा अवरोध गरेपछि बजेट फ्रिज हुँदै आएको छ । अहिले भने सांसद श्रेष्ठ संघीय मन्त्रालय र निकायमा धाएर जसरी पनि उक्त क्षेत्रमा आकाशे पुल बनाउने पक्षमा छन् । उनी कहिले सहरी विकास मन्त्रालय त कहिले भौतिक पूर्वाधार विकास मन्त्रालय पुग्न थालेका छन् ।

‘आकाशे पुल नहुँदा ४० जना बढीको ज्यान गइसक्यो, केही हप्ता अगाडि मात्र एउटा बच्चाको ज्यान गएको खबर आएको छ’, सहरी विकास मन्त्रालयमा भेटिएका सांसद श्रेष्ठले भने, यो पटक भने कुनै हालतमा उक्त ठाउँमा आकाशे पुल बनाउँनु छ ।’,

दिपेन्द्रले सहरी विकास सचिव सुरेश आचार्यसँग भेटेर उक्त ठाउँमा आकाशे पुल बने पुण्यको काम हुने बताए । आचार्य पनि सकारात्मक देखिए ।  सचिव आचार्यले तुरुन्तै मातहतका निकायका अधिकारीलाई बोलाएर सबै बुझे । उक्त पुल भौतिक पूर्वाधार मन्त्रालयले हेर्ने रहेछ ।

त्यसको भोलिपल्ट प्रदेश सांसद श्रेष्ठ भौतिक पूर्वाधार मन्त्रालय सडक बिभाग अन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुगे । उनले उक्त कार्यालयका  सुपरिन्टेन्डिङ ईन्जिनियर अर्जुन अर्याललाई भेटेर आकाशे पुलको विषयमा ध्यानाकर्षण गराए । त्यो ठाउँमा आकाशे पुल नभए थप मान्छेको अकालमै मृत्यु हुने सम्भावना रहेको सांसद श्रेष्ठले औंल्याए ।

कार्यालय प्रमुख अर्याल त्यहाँ आकाशे पुल हाल्न सकारात्मक देखिए । यही आर्थिक वर्षमा मिनभवन क्षेत्रमा आकाशे पुल बन्ने र थप पैदलयात्रीको अकालमै मृत्यु हुनेबाट जोगिने भएपछि बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री समेत रहेका श्रेष्ठ खुसी हुँदै निस्किए ।

पुतलीसडकको राणाकालीन ढल विस्थापन गर्न पनि काठमाडौं क्षेत्र नम्बर १(१)बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित श्रेष्ठ यसैगरी लागेका थिए । मिनभवन क्षेत्रमा आकाशे पुल बन्ने कुरा सकारात्मक भएपछि उनी उत्साहित बनेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #दिपेन्द्र श्रेष्ठ, #मिनभवन आकाशे पुल, #सहरी विकास सचिव सुरेश आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com