अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै


काठमाडौं । संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ ।

एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुनेछ । जसमा नेपालसहित  अमेरिका, क्यानडा लगायतका मुलुकमा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीहरूको सहभागिता रहने छ ।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा.सञ्जीव सापकोटाले सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने बताए ।

उनका अनुसार सम्मेलनको मुख्य उद्देश्य उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु रहेको छ ।

सम्मेलन आयोजक समितिमा डा. प्रकाश श्रेष्ठ, डा. अनुज कँडेल, डा. सरोज नियोला, अन्जु खरेल, डा. बिभा गौतम र डा. किरण सापकोटा रहेका छन् ।

सम्मेलनको समापनमा डलास घोषणापत्र जारी गरिनेछ जसमा अमेरिकाका स्वास्थ्य व्यवसायीहरूका लागि कामकाे आह्वान समावेश हुने पनि अध्यक्ष डा. सापकोटाले बताए ।

सम्मेलनमा नेपालबाट प्रमुख वक्ताको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले सहभागिता जनाउने छन् ।

उनले सम्मेलनमा नेपालमा विभिन्न क्यान्सरको अवस्था, यसको निराकरणका लागि अपनाउनुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति दिनेछन् ।

सम्मेलनमा कम्तिमा २ हजारभन्दा बढी नेपाली मुलका चिकित्सक र ५ हजारभन्दा बढी नर्सहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com