राष्ट्रपतिले स्वास्थ्य सल्लाहकार भेटेनन्, कानुनी र आर्थिक भने थपे


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सल्लाहकार हुने व्यक्ति भेटेका छैनन् । फागुन २५ गते निर्वाचित राष्ट्रपति पौडेलले अहिलेसम्म स्वास्थ्य सल्लाहकार नियुक्त गर्न सकेका छैनन् ।

प्रजातान्त्रिक चिकित्सकहरूले उपयुक्त नाम नदिँदा राष्ट्रपति पौडेलले स्वास्थ्य सल्लाहकार नियुक्त गर्न नसकेका हुन् । स्वास्थ्य सल्लाहकार नियुक्त गर्न नसकेका उनले आज कानुनी र आर्थिक सल्लाहकार भने थपेका छन् ।

राष्ट्रपति भएको दोस्रो दिन पौडेलले परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेलाई नियुक्त गरेका थिए । आज राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवर र आर्थिक सल्लाहकारका डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले शुशील कोइराला प्रधानमन्त्री हुँदाको टिमलाई राष्ट्रपति कार्यालयमा भित्र्याएका छन् । कोइराला सरकारको महान्यायाधिवक्ता कुँवरलाई उनले कानुनी र कोइरालाका आर्थिक सल्लाहकार नेपाललाई उनले राष्ट्रपतिको आर्थिक सल्लाहकारका रूपमा शीतलनिवास भित्र्याएका हुन् ।

राष्ट्रपतिको कानुनी सल्लाहकारमा नियुक्त कुँवर गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत भइसकेका व्यक्ति हुन् । नेपाल राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी सम्हालिसकेका नेपालले राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकार बन्ने मौका पाएका छन् । शुशील कोइरालाको काबिल टिमलाई राष्ट्रपति पौडेलले समेटेका हुन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सल्लाहकारका डा. चिरञ्जीवी नेपाल, #परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, #राष्ट्रपति रामचन्द्र पौडेल, #राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com