पूर्णबहादुरले मागे अर्थ, स्वास्थ्य र परराष्ट्र पाए रक्षा, सपथ खान आनाकानी


काठमाडौं । मन्त्री खान्न भनेर घोषणा गरेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अन्तत: नेतृत्व गरेर सरकारमा जान मरिहत्ते गरे । उनले सुरुमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेर जान गेम खेले ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि पूर्णबहादुर उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने प्रयास गरे । पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा प्रकाशशरण महतलाई पढाउने अडान लिएपछि पूर्णबहादुर उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बन्न लागिपरे । स्वास्थ्य मन्त्रालय मोहनबहादुर बस्नेतको पोल्टामा पर्‍यो । त्यो पनि पार नलागेपछि पूर्णबहादुर उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा दाबी गरे । तर, उक्त मन्त्रालयमा देउवाले रमेश रिजाललाई पठाउने जवाफ दिए ।

मन्त्री नबन्ने घोषणा गरेका पूर्णबहादुर गृह, अर्थ, स्वास्थ्य हुँदै परराष्ट्रमन्त्रीसम्म बन्न राजी भए । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुरलाई  उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनाउने प्रस्ताव गरे ।पूर्णबहादुरले परराष्ट्रमा अत्तो थापेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिमण्डल विस्तार गर्न सकेनन् ।

पूर्णबहादुरले रक्षामन्त्रीमा सपथ खान अनइच्छा देखाएपछि आज मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्डको योजना तुहिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सहयोग गरेको भनेर आलोचित भएका प्रकाशमानलाई रोकेर कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा जान खोजेका पूर्णबहादुरको कारण कांग्रेसबाट सिफारिस भएका अन्य मन्त्रीले पनि सपथ खान पाएनन् ।

कांग्रेसबाट स्वास्थ्यमन्त्रीमा सिफारिस भएका मोहनबहादुर बस्नेत, अर्थमा सिफारिस भएका प्रकाशशण महत, सामान्य प्रशासनमा धनराज गुरुङ, सहरी विकासमा एनपी साँउद, भूमि व्यवस्थामा सीता गुरुङ र कानुनमन्त्रीमा सिफारिस डिगबहादुर लिम्बु आज मन्त्रीको सपथ खानबाट बञ्चित भए ।

शेरबहादुरलाई महाधिवेशनमा सहयोग गरेको ‘चार्ज’ लागेर प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ बाट झन्डै चुनाव हारेका प्रकाशमानलाई धोका दिएर देउवाले पूर्णबहादुरलाई अवसर दिएका थिए । तर, उनले खोजेको मन्त्रालय नपाउँदा मन्त्रीहरूको सपथ नै रोकिएको चर्चा छ । मन्त्री हुन्न भन्ने बचनबाट च्युत भएका पूर्णबहादुरले आफ्नो कद मात्र घटाएका छैनन् भालुले खन्यू छानेजस्तो मन्त्रालय छानेर कांग्रेस कै बदनाम गराएका छन् ।

पूर्णबहादुर कै कारण आज सपथ हुन नसकेपछि कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका अन्य नेताहरू उनीसँग रुष्ट बनेका छन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #पूर्णबहादुर खड्का, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com