काठमाडौंमा कोरोनापछिको असर देखिँदै, जताततै सटर र कोठा खाली


काठमाडौं । मैतिदेवी, अनामनगर, बानेश्वर जस्ता काठमाडौंमा मुख्य व्यापारी क्षेत्रमा अहिले धमाधम सटर र कोठा खाली हुन थालेका छन् । ती क्षेत्रमा प्रायजसो सटरमा टू-लेट लेखेर टाँस्न थालिएको छ ।

अनामनगरमा पनि प्रायजसो घरका कोठाहरु खाली हुन थालेका छन् । कोरोनाको असर अहिले काठमाडौंमा देखिन थालेको घरधनीहरू सुनाउँछन् । उनीहरूका अनुसार यस्तै अवस्था हो भने घर भाडाबाट व्यवहार धान्दै आएका परिवारलाई समस्या पर्ने देखिन्छ ।

कोभिडको सुरुवाती चरणमाभन्दा अहिले काठमाडौंमा कोठा-सटर खाली हुने संख्या ह्वात्तै बढेको काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की बताउँछन् । ज्ञानेश्वर मैतिदेवीमा घर,कोठा र सटर खाली हुने क्रम बढेको उनको भनाइ छ ।

अनामनगर र बानेश्वर क्षेत्रको अवस्था पनि वडाध्यक्ष कार्कीले भनेभन्दा फरक छैन । उक्त क्षेत्रमा सटर र कोठा खाली हुने क्रम बढेको छ । अनामनगरकी स्थानीय रश्मी रैका मगर आफ्नो घरको एउटा फ्ल्याट नै खाली भएको तीन महिना बढी भएको सुनाउँछिन् । कोरोना र देशमा बढ्दै गएको आर्थिक संकटले कोठा भाडामा नलागेको उनको अनुमान छ । स्वास्थ्य लाइभकर्मीको खोज अनुसार अनामनगरका प्रायजसो घरमा कुनै न कुनै कोठा र सटर खाली भएको देखिन्छ । कसैले कोठा र सटर भाडामा नलागेको सुनाए त कसैले कोठा भाडा समेत तिर्न छाडेको समस्या सुनाए । यो क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।

काठमाडौंका मुख्य ठाउँमा नै कोठा र सटर खाली हुनुले मुलुक चरम आर्थिक संकटमा फस्दै छ भन्ने भान हुन्छ । उच्च सरकारी अधिकारी नै यो संकेत गर्छन् । सिंहदरबारमा बस्ने मन्त्रीहरू नै नेता/कार्यकर्तालाई धेरै नयाँ योजना नल्याउन आग्रह गर्न थालेका छन् । प्राप्त राजस्वबाट कर्मचारीलाई चैत/बैशाखको तलब खुवाउन नै समस्या पर्ने अवस्था देखिएको अर्थ मन्त्रालयका अधिकारीहरू सुनाउँछन् ।

कोरोनापछिको असर भने पनि जे भनेपनि काठमाडौंमा जताततै सटर र कोठा खाली हुन थालेका छन् । भाडाजीवी घरधनीलाई यसले गम्भीर असर पर्ने विश्लेषण गर्न थालिएको छ । वडास्तरमा समेत घर भाडामा लाग्न छाडेको गुनासो आउन थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #घर सटर खाली, #मैतिदेवी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com