राष्ट्रपतिको स्वास्थ्यसहित सल्लाहकारको जम्बो टिम


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यसहित सल्लाहकारको जम्बो टिम खडा गरेका छन् । राज्यकोषबाट तलब भत्ता बुझ्ने गरी राष्ट्रपति पौडेलले सल्लाहकारको जम्बो टिम खडा गरेका हुन् ।

राष्ट्रपति भएलगत्तै स्वकीय सचिवालय समेत हेर्ने गरी परराष्ट्र सल्लाहकार डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका पौडेलले अहिले भटाभट जम्बो टिम बनाउन थालेका छन् । राष्ट्रपति पौडेलले पछिल्लो समय स्वास्थ्य सल्लाहकार (निजी चिकित्सक) मा डा. निरज बम र प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका हुन् ।

डा. बम र पोखरेलको नियुक्तिसँगै राष्ट्रपतिको सल्लाहकारको जम्बो टिम बनेको छ । यसअघि राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवर, आर्थिक सल्लाहकारमा डा. जिरञ्जीवी नेपाल र प्रमुख राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भइसकेका छन् ।

डा. जिरञ्जीवी नेपाल आर्थिक सल्लाहकार राष्ट्रपतिलाई आर्थिक सल्लाहकार किन चाहिन्छ भनेर प्रश्न समेत उठ्न थालेको छ । बहस र चर्चा भएजस्तै राष्ट्रपतिको आर्थिक सल्लाहकार औचित्य देखिँदैन । राष्ट्रपति आर्थिक सल्लाहकार बन्न नपाएर स्वर्णिम वाग्लेले कांग्रेस नै छाडेका छन् । उनी राष्ट्रपति पौडेलले छाडेको क्षेत्रमा गएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

राष्ट्रपतिलाई स्वास्थ्य, परराष्ट्र र कानुनी सल्लाहकार भने आवश्यक रहेको विज्ञहरू बताउँछन् । यता राष्ट्रपतिको प्रेस संयोजकमा खिला कार्की र स्वकीय सचिवमा चिरञ्जीवी अधिकारी रहेका छन् । राष्ट्रपति पौडेलले हेर्दाहेर्दै सल्लाहकारको जम्बो टोली खडा गरेका छन् । राष्ट्रपति पौडेलले भटाभट सल्लाहकार बनाउन थालेपछि जनस्तरबाट आलोचना समेत सुरु भएको छ । देशलाई आर्थिक संकट परेको बेलामा अब अनावश्यक सल्लाहकार र सचिवालय बनाउन नहुने आम मत रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. निरज बम, #राष्ट्रपति रामचन्द्र पौडेल, #राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवर, #स्वास्थ्य सल्लाहकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com