कोरोनाले थलिएका काठमाडौंबासी चोरीले प्रताडित

वडाध्यक्ष कार्की भन्छन्, 'प्रहरीले चोर समात्नै सकेन'


काठमाडौं । कोभिड-१९ (कोरोना)ले थलिएका काठमाडौंबासी चोरीले प्रताडित भएका छन् । काठमाडौं महानगरपालिकाभित्र अहिले चोरले सर्व साधारणलाई हैरान पार्न थालेका छन् ।

काठमाडौंको घट्टेकुलो, मैतीदेवी, रातोपुल, गौशलालगायतका ठाउँमा चोरहरूले साम्राज्य खडा गर्न थालेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार रवि लामिछाने गृहमन्त्री भएर आएदेखि बढेको चोरी अहिलेसम्म रोकिएको छैन । काठमाडौंको गल्ली र मुख्य सडकका सटरहरूमा चोरी हुँदा पनि प्रहरीले चोर समात्न नसकेको उनको आरोप छ ।

‘रवि लामिछाने गृहमन्त्री भएयता दिउँसो र राति १ बजेपछि बढी चोरी हुन थालेको छ । अहिलेसम्म चोरीका घटना रोकिएको छैन ।  प्रहरीले चोर समात्नै सक्दैन ।’, वडाध्यक्ष कार्कीले भने । प्रहरी अनावश्यक भीआईपीको सुरक्षामा खटिदा जनशक्ति अभाव भएकोले पनि चोर समात्न नसकेको वडाध्यक्ष कार्कीको भनाइ छ ।

पछिल्लो ४ महिनामा मात्रै काठमाडौं महानगरपालिका वडा नम्बर ३० मात्र झन्डै डेढ दर्जन चोरीका घटना भएका छन् । यसले कोरोनाले थलिएका सटर व्यवसायीलाई समस्या भएको वडाध्यक्ष कार्कीले बताए ।

वडाध्यक्ष दल बहादुर कार्की

वडाध्यक्ष कार्कीका अनुसार केही दिन अगाडि काठमाडौं महानगरपालिका वडा नम्बर ३० रातोपुलमा दिउँसै प्रोफेसर बासु घिमिरेको घरमा १ लाख ६५ हजार नगद चोरी भएको छ ।  लिटल फ्लावर स्कुलमा ४ लाख रुपैयाँ नगद र कपडा चोरी भएको विवरण उनले सुनाए ।

काठमाडौंको रातोपुल र कालोपुल जोड्ने शहीद मार्गका मात्र ८ ठाउँमा चोरी भएको छ ।  प्रहरी बिट आसपासमै चोरी भएको वडाध्यक्ष कार्कीले जनाए ।  विष्णुपादुका मार्ग भैरवथान एरियामा केही दिन अगाडि मात्र सिलिण्डर चोरी भएको छ । राति १२ बजे प्रहरीको गस्ती रोकिएपछि पसल चोरी हुने गरेको वडाध्यक्ष कार्कीको दाबी छ । चाइनिज ताला लगाएको ठाउँमा बढी चोरी भएकाले प्रहरीले उक्त ताला लगाउन सुझाव दिने गरेको छ । चाइनिज ताला फुटाउन सजिलो भएकाले उक्त ताला लगाउँदा चोरलाई लिस्नो भएको वडाध्यक्ष कार्कीको टिप्पणी छ ।

शहीद मार्गस्थित वडाध्यक्ष कार्की कै घरमा डेरामा बस्ने व्यक्तिको १८ हजारमा किनेको साइकल चोरी भएको छ । सिसी क्यामेरामा हेर्दा मास्क लगाएको मान्छेले चोरेर लगेको देखिन्छ । तर, कमसल सिसी क्यामेरा जडान गर्दा त्यसले प्रभावकारी काम गर्न सकेको देखिँदैन । सिसी क्यामेरा हेरेर पनि प्रहरीले चोर पत्ता नलगाएका वडाध्यक्ष कार्कीको गुनासो छ ।

काठमाडौंमा सडकमा रहेका मेनहोल कभर सबैभन्दा बढी चोरी भएका छन् । सडकमा रहेका फलामका सामानहरू चोरले कुनै पनि बाँकी नराखेको वडाध्यक्ष कार्कीले सुनाए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्की चोरी नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको बताउँछन् । तर, चोरीको घटना हेर्दा प्रहरी चोरी नियन्त्रणमा विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #डाटा चोरी, #दलबहादुर कार्की वडाध्यक्ष-३०, #नेपाल प्रहरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com