बालबालिकालाई खोकी किन लाग्छ ? यसो भन्छन् डा.साह


सामान्य अर्थमा भन्दा खोकी भनेको सुरक्षात्मक प्रक्रिया हो । जसले श्वास फेर्ने नलीबाट नचाहिने किटाणु, खकार र धुलोका कणिकाहरूबाट जोगाउने काम गर्छ ।

खोकीलाई चाहिने कोषिकाहरू घाँटीमा, बाहिरी कानमा र पेटमा हुन्छ ।

खोकी साधारणतया आफै निको हुने गर्छ । निकै जटिल बिरामी भएका बच्चाहरूमा भने खोकी एउटा लक्षणको रुपमा पनि देखिन्छ ।

खोकी फोक्सोको समस्याबाहेक अन्य मुटुरोगी बिरामीहरूमा पनि देखिने गर्छ ।

कस्तो बच्चामा खोकीको समस्या बढी हुन्छ ?
क) कमतौल        ख) समय अगावै जन्मेका शिशु

कमतौल भएका र समय अगावै जन्मेका शिशुहरूमा बारम्बार खोकी लाग्ने समस्या देखापर्छ । यस्ता बच्चाहरूमा श्वास फेर्ने नली साँघुरो हुन्छ । तसर्थ हावा थोरै पास हुन्छ र श्वास फेर्दा आवाज आउने, घ्यारघ्यार बढी हुन्छ ।

यस्ता बच्चाहरू उमेर बढ्दै जाँदा, नली ठूलो हुँदै जान्छ र समस्या कम हुँदै जान्छ । तर, श्वास फेर्न गाह्रो हुँदा नजिकैको बालरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ ।

कुनैकुनै बच्चालाई बारम्बार किन खोकी लागि रहन्छ ?
वातावरणमा भएको भाइरस, सुर्तिजन्य पदार्थ, खानेकुरा, धुँवाधुलो, पशुजन्य पदार्थहरूको एलर्जी हुने भएकाले कुनैकुनै बालबालिकामा बारम्बार खोकी लागि रहन्छ ।

कुनैकुनै भाइरस किटाणुहरूले श्वासप्रश्वास नलीमा असर गर्ने हुनाले ज्वरो पनि देखा पर्न सक्छ । त्यसकारण यस्ता बालबालिकामा खोकी लामो समयसम्म लागिरहन्छ ।

यस्ता बालबालिकाहरूका अभिभावकले निकै सावधानी अपनाउनुपर्छ । र, समयमै विशेषज्ञसँग उचित सल्लाह लिनुपर्छ ।

धेरै खोकी हुँदा वान्ता किन हुन्छ ?
एक वर्ष मुनिका बच्चाहरूमा खाना खाने नलीको विकास पूर्ण रुपले भइसकेको हुँदैन । त्यसकारण कहिलेकाहीँ धेरै खोकी भइरहँदा सुरक्षात्मक कारणले दूध वान्ता हुने गर्छ । धेरै नै वान्ता गरेपछि टाउकोमाथि गरेर राख्नुपर्छ । त्यसले पनि भएन भने नजिकैको बालरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ ।

धेरै खोकी लागि रहने बच्चाहरूको तौल किन बढ्दैन ?
जन्मजात मुटुरोग भएको बच्चाहरूमा धेरै खोकी लागिरहने हुन्छ । साथसाथै उसको उमेर अनुसार बढ्नुपर्ने तौल बढ्दैन ।

प्रायः जसो यस्ता बच्चाहरूलाई खतरापूर्ण जटिल मुटुरोगको समस्या हुन्छ र यस्ता बच्चाहरूलाई सर्जरी र औषधि दुबैको आवश्यकता पर्न सक्छ । यस्तो अवस्थामा बच्चाको मुटुरोग विशेषज्ञद्वारा इकोकार्डियोग्राफी अर्थात् मुटुको भिडियो एक्स रे गर्नुपर्छ ।

५ वर्षमाथिका बच्चाहरूमा पनि बारम्बार खोकी किन हुन्छ ?
बच्चाको विकास राम्ररी नभएको र बारम्बार खोकी लागि रहने समस्या वा निमोनिया भइरहनु भनेको शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुनु हो भनेर बुझ्नु पर्छ ।

बच्चाहरूको शरीरको प्रतिरोधात्मक शक्ति कमजोर भएपछि बाहिरी किटाणुले गर्दा बारम्बार सिकिस्त बिरामी भइन्छ । यस्ता बच्चाहरूलाई आफ्ना बालरोग विशेषज्ञसँग नियमित रुपमा चेकजाँच गराउनु पर्छ ।

किशोरावस्थामा पनि खोकी निरन्तर लागि रहने समस्या किन हुन्छ ?
विशेषगरी १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खोकी लाग्नु तर, स्यास्या नहुनु, दिउँसो मात्र खोकी हुनु, बेलुका सुत्दा खोकी नहुनु जस्ता समस्या भएमा यसलाई हेबिट कफ भनिन्छ ।

खोकी बारम्बार हुनु तर कुनै कारण नहुने भएर बानी परेको हुन्छ ।

धेरै चिन्ता लिने, तनाव भएको बेलामा बच्चाहरूमा यस्तो समस्या दिउँसो हुने तर, बेलुका सुत्दा खोकी नलाग्ने हेविट कफ हुन्छ ।

प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?
कुनै पनि मानिसको प्रतिरोधात्मक क्षमता जन्मिदा नै तय भएको हुन्छ । तसर्थ बाहिरी बजारमा पाइने इम्युनिटी बुस्टरहरू (Immunity Booster) को प्रयोगले कुनै लाभ हुँदैन । त्यसकारण, बच्चाहरूलाई पोषिलो खाना खुवाउने गर्नुपर्छ र पटकपटक बाहिरी किटाणुहरूबाट जोगाउन सक्नुपर्छ । उमेर बढ्दै जाँदा उसको प्रतिरोधात्मक शक्तिको विकास पनि त्यसरी नै हुँदै जान्छ ।

खोकी लागेको बच्चाहरूको ख्याल कसरी राख्ने ?
१. खोकी लागिरहेको बच्चाहरूलाई सुतेर दूध खुवाउनु हुँदैन
२. जथाभावी बजारमा पाइने कफसिरप खुवाउनु हुँदैन
३. बारम्बार खोकी लाग्ने बच्चाहरू र वान्ता गर्दा काखमा लिनु हुँदैन (देवे्र कोल्टे अवस्थामा राख्नुपर्छ)
४. चिकित्सकको परामर्श बिना एन्टिबायोटिक्स खुवाउनु हुँदैन

(डा.लव कुमार साह, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ हुन्)

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com