विश्व औंलो दिवस

लामखुट्टेको टोकाइबाहेक पनि सर्छ औंलो ! यसो भन्छन् डा.पुन


काठमाडौं ।आज विश्व औंलो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्ष २५ अप्रिलका दिन विश्व औंलो दिवस मनाउँने गरिन्छ । औंलोका विषयमा जनचेतना लगायतका विभिन्न कार्यक्रम गरी सो दिन विश्व औंलो दिवस मनाउने गरिन्छ ।

सरकारले ‘शून्य अबको थालनी, नबिनतम कार्य कार्यान्वयनमा लागौं’ नाराका साथ यो दिवस मनाइरहेको छ ।

सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।  सोही उद्देश्यका साथ औंलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । सरकारको पछिल्लो तथ्याङ्क हेर्दा औला रोगीको सङ्ख्या  लगभग स्थिर नै देखिन्छ ।

तथ्याङ्क अनुसार २०७२/७३ मा ९ सय ९१ औंलोका बिरामी भेटिएका थिए । जसमा आयातित मलेरियाका बिरामी ४ सय ८५ रहेको छ । त्यस्तै, ०७३/०७४ मा ११२८ कुल औंलोका बिरामीमा आयातित ६ सय ३६ रहेको तथ्याङ्कले देखाउँछ ।

यो तथ्याङ् हेर्दा नेपालमा औंलाका बिरामी बढेको देखिए पनि यसलाई बढ्दो क्रममा रहेको भन्न सकिँदैन  ।

नेपालमा विशेषगरी सुदरपश्चिम भेगमा औलोका बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा ३ सय औलोका बिरामी रहेकोमा २ सय पाँच आयातित र ९५ जना स्थानीय बिरामी फेला परेको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी, आव  २०७३/७४ मा दुई सय ७१ बिरामी रहेकोमा एक सय ७० आयातित र एक सय एक स्थानीय,  बिरामी भेटिएका छन् ।

आर्थिक वर्ष ०७२/७३ मा दुई सय बिरामी रहेकोमा एक सय २३ आयातित र ७७ स्थानीय बिरामी फेला परेका छन् ।

यस्तै, आर्थिक वर्ष ०७१/७२ मा २ सय ६८ बिरामी रहेकोमा एक सय ६७ आयातित र एक सय एक स्थानीय औंलोका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ । कैलालीमा सन् २०२२ भित्र  शून्य औंलोका बिरामी बनाउने लक्ष्य लिइएको थियो । तर, त्यो सम्भव भएन ।

यसअनुसार जनचेतनामुलक कार्यक्रम, किटनाशक झुल वितरण, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, औषधि तथा सामाग्रीहरूको नियमित आपूर्ति लगायतका क्रियाकलाप गरिरहेको पाइन्छ ।

लामखुट्टेको टोकाइबाहेक पनि सर्छ औंलो !
सरुवारोग विषेशज्ञ डा.शेर बहादुर पुनका अनुसार औंलो विशेषगरी एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ । लामखुट्टेको टाकाइबाहेकका कारणले पनि औलो सर्छ ।

जसमा बिरामी आमाले बच्चा जन्माएमा, अङ्ग प्रत्यारोपण गर्दा, औंलोका बिरामीको रगत अर्को व्यक्तिमा हाल्दा, असुरक्षित सुइहरूको प्रयोग गरेमा पनि औंलो सर्छ । तर, प्रत्यक्ष रुपमा मानिसबाट मानिसमा औंलो सर्दैन ।

कति किसिमका हुन्छन् औलो ?
खासगरी औलो पाँच किसिमका रहेका छन् । यसअघि चार किसिमका औंलो रहेकोमा  पछिल्लो समय दक्षिण एसयाली मुलुक कम्बोडियामा प्लाजमोडियम नलेसी नामक औलो भेटिएको छ । योसहित प्लाजमोडियम भाइभेक्स, प्लाजमोडियम ओभाले, प्लाजमोडियम फल्सिपारम र प्लाजमोडियम मलेरिएगरी हाल पाँच किसिमका औलो रहेका छन् ।

यी औंलो परजीविमध्ये दुई परजीविहरू प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवि मात्र नेपालमा पाइन्छ ।

जसमध्ये पनि प्लाज्मोडियम  भाइभेक्स सबभन्दा बढी देखिन्छ । प्लाजमोडियम फल्सिपारमले गराउने औंलो रोग बढी कडा र खतरनाक हुन्छ । यसले मानिसको स्नायू प्रणालीमै असर गर्ने हुँदा बढी घातक मानिन्छ ।

चुनौती
तराई क्षेत्रमा मात्रै नभएर पहाडी/हिमाली क्षेत्रमा पनि औंलो रोग देखिने थालेको छ ।

जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले हिमाली क्षेत्रमा समेत लामखुट्टेहरू देखिन थालेका छन् ।  यसकारण  ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना रहेको छ ।

तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट पहाडी तथा हिमाली क्षेत्रमा पनि समेत जान थालेको छ ।  यो अहिले चुनौतिको विषय बनेको छ ।

नेपालमा दुई किसिमबाट औलोको परीक्षण 
औलो रोग समयमै पत्ता लागेमा सहजै उपचार गर्न सकिन्छ ।

ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र सङ्क्रमण देखा परे तत्काल उपचार  गरिन्छ ।  नेपालमा दुई किसिमबाट औलोको परीक्षण गर्ने गरिन्छ ।
नेपालमा औलो रोगको लक्षणहरूका आधारमा र्यापीड डाइग्नोसिस टेस्ट  र सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको परीक्षण गरिन्छ ।

परजीवीको प्रकारअनुसार रोगको उपचार पनि फरक–फरक किसिमबाट हुनेगर्छ ।  चिकित्सकको सल्लाअनुसार  पूर्णरुपमा औषधि सेवन  गर्नुपर्छ ।

नेपालमा औंलो रोगको उपचारका लागि विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ । स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार पनि  निःशुल्क  छ ।

औंलो रोगका लक्षण 
औंलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि  १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरू दुख्ने, असजिलो महसुस हुने लगायतका सामान्य लक्षण देखिन्छन् ।

साथै निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अङ्गहरू फियो/कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखा पर्दछ ।

यो रोगले गम्भीर रूप लिएमा मानिसको ज्यान समेत जान सक्ने सम्भावना हुन्छ ।

धेरैजसो कामको सिलसिलामा बाहिर गएका व्यक्तिले  यस्ता रोग लिएर आउँछन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट आएका व्यक्तिले औलो रोग ल्याउँछन् । यससँगै अफ्रिकन मुलुकहरूमा  पनि औलोको जोखिम बढी भएको हुँदा त्यहाँबाट फर्किएका व्यक्तिले पनि यो रोग लिएर आउँछन् ।

कसरी  बच्ने 
औलोको जोखिम कम गर्न सबैभन्दा पहिला लामखुट्टे आउने माध्यम बनाउनु हुँदैन । यसका लागि घर वरपर पानी जमेका खाल्टाखुल्टी  पुर्नुपर्छ ।

यससँगै औंलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि किटनाशक औषधि छर्कनुपर्छ ।

राति सुत्दा सँधै झुल प्रयोग गर्नु औंलोबाट बच्ने प्रमुख उपाय हो ।

शरीरका खुला अङ्गमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ ।  यसैगरी प्रत्येक समुदायमा  औंलो सम्बन्धी जनचेतना फैलाउन अति आवश्यक छ । साथै शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औंलो रोगबाट बच्न सकिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com