ऐतिहासिक धारा पोखरी मासेर सपिङ कम्प्लेक्स बनाउने खेलमा दिपक मल्होत्रा

ऐतिहासिक पोखरीनै ब्यूँताउने पक्षमा प्रकाशमान-दिपेन्द्र


काठमाडौं । डिल्लीबजार कालिकास्थानस्थित ऐतिहासिक धारा पोखरी मासेर व्यापारी दिपक मल्होत्राले व्यापारिक महल (सपिङ कम्प्लेक्स) बनाउन खोजेको पाइएको छ । यो विषयमा कालिकास्थानका स्थानीयहरू जुर्मुराएका छन् ।

नवीन कला मन्दिरका केही पदाधिकारीसँगको मिलेमतोमा उनले सपिङ कम्प्लेक्स बनाउन खोजेपछि स्थानीयहरू जुर्मुराएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध कोरोना ल्याबको प्रोत्साहन गरेका व्यापारी मल्होत्राले धारा पोखरीमा सपिङ कम्प्लेक्स बनाउन चलखेल गरेपछि स्थानीयहरू जुर्मुराएका छन् ।

नेपाल सरकारले नवीन कला मन्दिरलाई नवीन कला प्रवर्द्धन गर्ने प्रयोजनका लागि दिएको उक्त पोखरीको जग्गामा सपिङ कम्प्लेक्स बनाउने धन्दा सुरु भएपछि सबैको चासोको विषय बनेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ (हाल २९) सिट नम्बर १०२-११०५-१५ को कित्ता नम्बर २४६ मा रहेको ३ रोपनीभन्दा बढी जग्गा नेपाल सरकारले नवीन कला मन्दिरलाई दिएको देखिन्छ । तर, नवीन कला मन्दिरका केही व्यक्तिहरुको साँठगाँठमा उक्त जग्गामा व्यापारी मल्होत्राले १६ तले सपिङ कम्प्लेक्स बनाउन चलखेल गरेको बुझिएको छ । स्थानीयहरुको भनाई अनुसार नवीन कलाले उक्त जग्गा ३० वर्षका लागि व्यापारी मल्होत्रालाई लिजमा दिन लागेको हो । यो कुरा रोक्न स्थानीयहरु सक्रिय भएका छन् ।

काठमाडौंको त्यसै क्षेत्रबाट निर्वाचित संघीय सांसद प्रकाशमान सिंह र प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई बोलाएर स्थानीयहरूले ऐतिहासिक धारा पोखरी मासेर सपिङ कम्प्लेक्स बनाउन लागिएकोमा विरोध जनाएका छन् । उनीहरूले व्यापारी मल्होत्राको डिजाइनमा धारा पोखरीमा सपिङ कम्प्लेक्स बनाउन खोजेको भन्दै त्यसलाई रोक्न सांसदद्वयलाई आग्रह गरेका छन् ।

स्थानीयको कुरा सुनेपछि प्रकाशमान-दिपेन्द्र ऐतिहासिक धारा पोखरी नै ब्यूँताउने पक्षमा उभिएका छन् । संघीय सांसद प्रकाशमानले उक्त ठाउँमा कुनै हालतमा सपिङ कम्प्लेक्स बनाउन नदिने प्रतिबद्धता जनाए । जुन प्रयोजनका लागि नवीन कला मन्दिरले उक्त जग्गा प्राप्त गरेको हो त्यो प्रयोजनविरुद्घ प्रयोग गर्न खोज्नु गलत हुने प्रकाशमानको धारणा छ ।प्रदेशसभा सदस्य दिपेन्द्रले सपिङ कम्प्लेक्स होइन बरू ऐतिहासिक धारा पोखरी नै ब्यूँताउन लाग्ने वचनबद्धता प्रकट गरेका छन् ।

संघ र प्रदेश सांसद ऐतिहासिक पोखरीको पक्षमा उभिएपछि केही स्थानीय जनप्रतिनिधि पनि त्यहिँ लाइनमा देखिन्छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का सदस्य सन्तोष ढुंगेल पनि ऐतिहासिक धारा पोखरी ब्यूँताउनुपर्ने पक्षमा छन् । ‘यहाँ दुईधार देखिन्छ, कोही सपिङ कम्प्लेक्स बनाउनुपर्ने पक्षमा छन्, कोही पोखरी ब्यूँताउने पक्षमा छन्, म चाहिँ प्रस्टै रुपमा पोखरी बनाउने पक्षमा रहेको छु ।’, वडा सदस्य ढुंगेलले भने ।

भक्तपुरले ३ सय वर्ष पुरानो ऐतिहासिक पोखरी ब्यूँताउँदा काठमाडौंको न ब्यूँतिने भन्ने नै हुँदैन । यो ऐतिहासिक र उचित कुरा हो । ऐतिहासिक पोखरी ब्यूँताउन काठमाडौं महानगरपालिकाले समेत विशेष पहल गर्नुपर्छ ।

छलफलमा उपस्थित स्थानीय आमोदमणि दिक्षितले ऐतिहासिक धारा पोखरीको ठाउँमा सम्पिङ कम्प्लेक्स बनाउन खोज्नु गलत भएको टिप्पणी गरे । उनले त्यो ठाउँका धारा पोखरी रहेको तथ्य समेत सुनाए । यस्ता ऐतिहासिक विषयमा चासो राख्ने घट्टेकुलो निवासी बलराम सापकोटाले पनि उक्त ठाउँमा धारा पोखरी रहेको तथ्य सुनाए । ‘धारा पोखरी थियो, अहिले पोखरी सुक्यो, स्कूल बन्यो, नविन कला मन्दिरले स्कूललाई भाडामा दिएको थियो ।’, सापकोटाले भने ।

नवीन कलाले प्रयोजनविपरीत उक्त जग्गा स्पेङ्गल बोर्डिङ हाइ स्कूललाई भाडामा लगाएको थियो । अहिले फेरि बोर्डिङ हटाएर सपिङ कम्प्लेक्स बनाउनका लागि भाडामा दिन खोजेको बुझिन्छ ।

कालिकास्थानको भेलामा सहभागी स्थानीय हरि लामाले ‘यो कुरा निकै अगाडि बढे जस्तो लाग्छ’ भनेका थिए । कालिकास्थानभरि धारा पोखरीमा सपिङ कम्प्लेक्स बन्न लागेको व्यापक चर्चा छ । यहीं विषयलाई लिएर नवीन कला मन्दिरसँग सम्बन्धित व्यक्तिहरूबीच धक्कामुक्का समेत भएको सुनिन्छ । तर, नवीन कला मन्दिरका कार्यवाहक अध्यक्ष अम्बु रिमाल त्यस्तो केही नभएको बताउँछन् । सुरुमा त्यस्तो केही नभएको बताएपनि स्वास्थ्य लाइभसँगको कुराकानीका क्रममा उनले नवीन कला मन्दिर आफैंले संरचना बनाउन लागेको खुलाए । नवीन कलाको जग्गाको विषयमा के को चासो र सरोकार भन्दै रिमाल रिसाए समेत । उनको रिसको लेबल हेर्दा यहाँ पक्कै केही खिचडी पाक्दै छ भन्ने बुझिन्छ ।

उक्त जग्गाको विषयमा जानकार कानुन व्यवसायी कविराज उप्रेती सपिङ कम्प्लेक्स बनाउन नमिल्ने बताउँछन् । यो सरकारले दिएको जग्गा भएकाले त्यस्तो गर्न खोजिए अदालतमा रिट लाग्ने उनको भनाइ छ ।

नवीन कला मन्दिरलाई एउटा प्रयोजनका लागि दिएको जग्गा व्यापारी दिपक मल्होत्रासँग मिलेर सपिङ कम्प्लेक्स बनाउन दिन खोजेकाले उक्त जग्गा सरकारले तत्काल फिर्ता लिनुपर्ने देखिन्छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत शीघ्र छानबिन गरेर सपिङ कम्प्लेक्स बनाउन रोक्न जरुरी छ । अख्तियारले सपिङ कम्प्लेक्स बनाउने खेलमा संलग्नमाथि भ्रष्टाचार गर्ने उद्योगमा मुद्दा चलाउने र उक्त सरकारी जग्गा भविष्यमा मास्नेबेच्ने खतरा रहेकाले नेपाल सरकारकै नाममा फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन आवश्यक छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अम्बु रिमाल, #आमोदनानी दिक्षित, #ऐतिहासिक धारा पोखरी कालिकास्थान, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #नवीन कला मन्दिर, #नेपाल सरकार जग्गा, #पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, #व्यापारी दिपक मल्होत्रा, #सपिङ कम्प्लेक्स

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com