स्वास्थ्य सदनसहित भद्र घलेले हडपेको जग्गाका डोजर लगाउने बालेनको तयारी


काठमाडौं । स्वास्थ्य सदनसहित पूर्वमन्त्री भद्र कुमारी घलेले हडपेको सरकारी जग्गाका डोजर लगाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तयारी थालेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित करिब ७ रोपनी सरकारी जग्गा भद्र कुमारी घलेले हडपेको देखिन्छ । उक्त जग्गा कब्जा गरेको विषयमा स्वास्थ्य लाइभले पटकपटक समाचार प्रकाशित गदै आएको छ । अहिले भने भद्र घलेले कब्जा गरेको जग्गामा डोजर लगाउन बालेन तातेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सचिव सुवोध खड्काका अनुसार एक दुई दिनभित्रै भद्र घलेले चर्चेको जग्गा रेखाङ्कनको काम हुनेछ । त्यसका लागि नापी कार्यालयलाई महानगरले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोला करिडोरको कित्ता नम्बर १२,१३,२२२,२२३,२२५ र २२६ मा रहेको करिब ७ रोपनी सरकारी जग्गा भद्र कुमारी घलेले कब्जा गरेको पाइन्छ । उक्त जग्गामा भद्र कुमारी घलेले शिक्षा सदन, कृष्ण सार्वजनिक स्वास्थ्य सदन, पाहुना घर मात्र होइन अन्य भवन र संरचनामा सटर हालेर भाडा खाइरहेको देखिन्छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पटकपटक वडा कार्यालयसँग जवाफ मागेको छ ।

भद्र घलेले सरकारी जग्गा हडपेर अनुचित लाभ लिएको तथ्य सार्वजनिक भएपछि उनको सबै हेर्ने दिपक घले अहिले ठूलो संख्यामा संस्था खडा गर्न लागेका छन् । दर्जनौं केटाहरू बोकेर उनी वडा कार्यालयमा दबाब दिन पुगेका छन् । वडाका कर्मचारीलाई जसरी पनि सिफारिस दिन उक्त समूहले अनुचित दबाब दिन थालेको हो ।

सरकारी जग्गामा बनाएको संरचना भत्काउन रोक्नका लागि मेयर बालेनसँगै कुरा गर्ने घलेको भनाइ छ । ‘यो विषयमा बालेनसँगै कुरा हुन्छ टाइम मिलाइसकेको छु, हाम्रो संस्था दर्तालगायत प्रक्रिया अघि बढाउनुहोस्, दायाँबायाँ होइन ।’, स्वास्थ्य लाइभका प्रतिनिधि कै उपस्थिति रहेको बेला घलेले वडा सचिवलाई भने ।

उनीहरूले भद्र घले नाम जोडेर आधा दर्जन बढी संस्था दर्ता गर्न खोजेका छन् । भद्र घलेको नाममा सरकारी जग्गा कब्जा गरेर मोज गरिरहेका उनीहरूलाई महानगरपालिकाले डोजर लगाउने तयारी गरेपछि पुरै छटपटी भएको पाइन्छ । मेयरलाई मिलाउछु भन्दै वडा सचिवलाई धम्की दिनुले यो कुरा झल्किन्छ ।

यता मेयर बालेन भने जसरी पनि भद्र घलेले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा डोजर लगाएर सुन्दर पार्क बनाउने परिकल्पनामा छन् । यसमा उनले लगातार चासो राख्दै आएका हुन् । बालेन मेयर नभएको भए भद्र घलेले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचना हटाउन असम्भव जस्तै रहेको टिप्पणी हुन थालेको छ । रेखाङ्कनको काम अगाडि बढिसकेकाले छिट्टै त्यो ठाउँमा डोजर चल्ने देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #बानेश्वर देवीनगर, #भद्र कुमारी घले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com