कसले छोप्यो ओम अस्पताल विपरीत दिशाबाट बगिरहेको धुम्बाराहीको खोला ?


काठमाडौं । ओम अस्पताल विपरीत दिशा धुम्बाराहीतिरबाट आएको खोला धमाधम छोप्ने काम भइरहेको छ । आवाज दिएर बगिरहेको उक्त खोलामा पानीको आवाज नै गायब पार्ने गरि खोला छोप्ने काम भइरहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा रहेको उक्त खोला छोपेर खोलामाथि बाटो बनाउने काम भइरहेको हो ।  धन्यन्तरी मार्ग, धन्यन्तरी बाराही देवीको मन्दिर नजिकै रहेको उक्त खोला कसले छोप्यो भन्ने अन्योल रहेको छ ।

हाँडीगाउँ र धुम्बाराहीको सीमानामा रहेको त्यो खोला छोपेर व्यक्तिको घर जान र गाडी गुडाउन सहज पार्न खोजिएको छ । उक्त खोला रुद्रमति नदी (धोबीखोला)को सहायक खोला हो । त्यो खोला ओम अस्पताल नजिकै आएर धोबीखोलामा मिसिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले टुकुचा उत्खनन् गर्न खोजिरहेका बेला त्यतिनै पानी बगिरहेको धुम्बाराहीस्थित खोला धमाधम छोप्ने काम भइरहेको देखिन्छ ।

खोला नै छोपेर त्यसको प्राकृतिक अधिकार खोस्ने काम भएपछि यो विषयमा स्वास्थ्य लाइभले सोध-खोज गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेनका सहयोगी भुपदेव शाहले खोला छोपिएको विषयमा जानकारी रहेको बताएका छन् । उनले स्वास्थ्य लाइभसँग भनेका छन्’हामीलई जानकारी छ । त्यसको प्राविधिक प्रतिवेदन मगाइएको छ ।’,

खोला छोपिएको विषयमा स्वास्थ्य लाइभले काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन भने अनभिज्ञ देखिए । उनले त्यो काम वडाले नभई काठमाडौं उपत्यका विकास प्राधिकरण र प्रदेश सरकारले गरेको दाबी गरे ।

वडाध्यक्ष महर्जनको दाबीपछि स्वास्थ्य लाइभले यो विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त जगदिश लामिछानेसँग खोला जिज्ञासा राख्यो । उनले पनि आफूलाई जानकारी नभएको बताए । यो विषयमा सबै बझेर मात्र भन्न सक्ने जिल्ला आयुक्त लामिछानेको प्रतिक्रिया छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणपछि खोला छोपेको विषयमा वडाध्यक्ष कै दाबी अनुसार स्वास्थ्य लाइभले बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, मानभवनका प्रमुख राजन पोखरेलसँग प्रतिक्रिया लियो । स्वास्थ्य लाइभसँगको कुराकानीमा पोखरेलले खोला छोप्ने काम आफूहरूले नगरेको जिकिर गरे ।

जसले गरेपछि हाँडीगाउँ र धुम्बाराहीको बीच भाग भएर धोबीखोलामा मिसिने खोला छोप्ने काम भएको छ । खोलाको प्राकृतिक अधिकारमाथि हमला गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्छ । अख्तियारले खोला छोपेर गैरजिम्मेवार काम गर्ने उक्त कार्यमा संलग्न जिम्मेवार अधिकारीमाथि राज्यकोषको दुरुपयोगमा मुद्दा चलाउनै पर्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ओम अस्पताल, #खोला छोप्ने, #धोबिखोला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com