बागमतीमा कांग्रेसले स्वास्थ्यसहित ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति


काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले स्वास्थ्यसहित ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा कंग्रेसले स्वास्थ्यसहित ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको हो । नयाँ सहमति भएपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १/२ दिनभित्रै पूर्णता पाउने देखिन्छ ।

बागमती प्रदेशमा कांग्रेसले ६ वटा मन्त्रालय दाबी गरेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रदेशस्तरबाट टुंगो नलागेपछि केन्द्रबाट हस्तक्षेप गरेर बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगिएको हो ।

पछिल्लाे शीर्ष सहमति अनुसार कांग्रेसले स्वास्थ्यसहित ५, नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र एकीकृत नेकपा समाजवादीले २ मन्त्रालय पाउने भएका छन् । कांग्रेसको भागमा थप एक राज्यमन्त्री परेको छ ।

कांग्रेसबाट बहादुर सिंह लामा (तामाङ) आर्थिक मामिलामन्त्री र तीर्थ लामा, खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री बनेका छन् । लामाले स्वास्थ्य, उद्योग, पर्यटन तथा सहकारी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका छन् । ती मन्त्रालय कांग्रेस कै भागमा पर्ने निश्चित जस्तै भएको बालुवाटार स्रोतको दाबी छ ।

नेकपा एकीकृत समाजवादीले कृषि र श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना छ ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले भने आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयमा मन्त्री पठाइ सकेको छ । माओवादीले आन्तरिक मामिला गंगानारायण श्रेष्ठ, भौतिकमा युवराज दुलाल र समाजिक विकासमा कुमारी मोक्तानलाई मन्त्रीको रूपमा पठाइसकेको छ । उनीहरूको जिम्मेवारी यथावत हुने देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #बहादुर सिंह लामा, #मुख्यमन्त्री शालिकराम जम्कट्टेल बागमती प्रदेश, #स्वास्थ्य मन्त्रालय बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com