बागमती सरकारमा कांग्रेसले स्वास्थ्यसहित ४ मन्त्री पठाउँदै


काठमाडौं । बजेट निर्माणको अन्तिम चरणमा पुगेका बेला बागमती प्रदेश सरकारले आजै पूर्णता पाउने सम्भावना बढेको छ । सरकार विस्तारका लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तिम कसरत गरिरहेका छन् । उनी यसका लागि दौडधुपमा लागेका हुन् ।

बागमती प्रदेशको सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आजै थप मन्त्री पठाउने गृहकार्य गरिरहेको छ । कांग्रेसको भागमा ६ वटा मन्त्रालय पर्ने निश्चित जस्तै छ । अहिले कांग्रेसबाट बहादुर सिंह लामा (तामाङ) आर्थिक मामिला तथा योजनामन्त्री रहेका छन् । त्यस्तै तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्रीको भूमिकामा छन् ।

अहिले लामाले सम्हालिरहेको स्वास्थ्य, उद्योग, पर्यटन तथा सहकारी र वन तथा वातावरण मन्त्रालयमा कांग्रेसले नयाँ मन्त्री पठाउन लागेको हो । अर्को एकजना विनाविभागीय मन्त्रीका रुपमा आजै पठाउने तयारी भइरहेको छ । कांग्रेसलाई भाग पुर्‍याउन उद्योग र पर्यटन मन्त्रालय फुटाउने सम्भावना देखिन्छ ।

कांग्रेसबाट रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन, श्रीराम लामिछाने, हरिप्रभा खड्गी, मसिना खड्का, पुकार महर्जन, उत्तम जोशीलगायतको नाम मन्त्रीको चर्चामा छ ।

यता नेकपा एकीकृत समाजवादीले श्रम तथा यातायात र कृषि मन्त्रालय पाउने भएको छ । समाजवादीले मन्त्रीका लागि राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्सालको नाम मुख्यमन्त्री जम्कट्टेलसमक्षले सिफारिस गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री र कुमारी मोक्तान सामाजिक विकासमन्त्रीको जिम्मेवारीमा रहेका छन् । कांग्रेस र समाजवादीबाट मन्त्री थपिए आजै बागमती सरकारले पूर्णता पाउने छ ।

क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश सरकार, #मुख्यमन्त्री शालिकराम जम्कट्टेल बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com