संघसहित ४ प्रदेशको स्वास्थ्य मन्त्रालय कांग्रेसले लियो


काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा नराख्ने भनेर नेपाली कांग्रेसको आलोचना हुने गरेको थियो । नेपाली कांग्रेसको भागमा खासै स्वास्थ्य मन्त्रालय पर्दैन पनि थियो । तर, यसपटक नेपाली कांग्रेसले संघसहित ४ वटा प्रदेशमा स्वास्थ्य मन्त्रालय लिएको छ ।

नेपाली कांग्रेसबाट संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बनेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

संघपछि महत्त्वपूर्ण मानिने बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा उत्तम जोशी रहेका छन् । नेपाली कांग्रेसका उनी चितवन क्षेत्र नम्बर २(२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल रहेका छन् । हिजो मात्रै लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बनेका खनाल कांग्रेसबाट संविधानसभा सदस्य समेत भइसकेका व्यक्ति हुन् । दाङ क्षेत्र नम्बर २(१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित खनाल स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउन सफल भएका छन् ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी वीरेन्द्रप्रसाद सिंहले पाएका छन् । नेपाली कांग्रेसको मधेश प्रदेश उपसभापति समेत रहेका सिंहले आजै मात्र मधेश प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । सर्लाही क्षेत्र नम्बर ४(१) बाट मधेश प्रदेशसभामा निर्वाचित सिंह स्वास्थ्यको जिम्मेवारी लिएर आजै प्रदेश सरकारमा सामेल भएका छन् । उनले यस अगाडि पनि प्रदेश मन्त्रिपरिषद्को सदस्यको रूपमा काम गरिसकेका छन् ।

यता कर्णाली प्रदेशको स्वास्थ्य हेर्ने समाजिक विकास मन्त्रालयको जिम्मेवारी खड्गबहादुर पोखरेलले पाएका छन् । सुर्खेत क्षेत्र नम्बर १(१)बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित पोखरेल कर्णालीको स्वास्थ्य हेर्ने समाजिक विकासमन्त्रीको भूमिका छन् । उनी सुर्खेत कांग्रेसको जिल्ला सभापति समेत हुन् ।

संघीयतामा प्रदेश र संघको स्वास्थ्य मन्त्रालयबीच समन्वय नभइरहेको गुनासो आइरहँदा संघसहित ४ प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयको जिम्मेवारी कांग्रेसले पाएको छ । यसले स्वास्थ्यलाई संघीयतामा ढाल्न र व्यवस्थापन गर्न सहज हुने विश्वास लिइएको छ । त्यसका लागि संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले विशेष भूमिका खेल्नुपर्ने देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #राजु खनाल स्वास्थ्यमन्त्री लुम्बिनी प्रदेश, #वीरेन्द्रप्रसाद सिंह स्वास्थ्यमन्त्री मधेश प्रदेश, #सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, #स्वास्थ्यमन्त्री उत्तम जोशी बागमती प्रदेश, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com